राजनीति

पौडेल पक्षको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

काठमाडौं-  नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अघि सोमबार  नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

पार्टीको बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्न लागेको हो।

सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका थिए। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत उपस्थित थिए। आइतबार मात्रै पौडेलपक्षीय नेताहरुको बैठक बसेर केन्द्री समितिको बैठक बोलाउन र विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न सभापति देउवालाई आग्रह गरेका थिए।

कांग्रेस नेताहरुले पार्टी यतिबेला संकटमा भएको बताउँदै करेक्सन गरेर नवजीवन दिन सभापतिलाई आग्रह गर्दै आएका छ्। सोमबारको भेटमा देउवाले पौडेललाई सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए।

सम्भवत केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरु चयन गर्ने कांग्रेस स्रोतले बतायो।

सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने समेत पौडेल पक्षीय नेताले चेतावनी दिएको बेला केन्द्रीय समिति बस्न लागेको हो।

 

प्रकाशित: २ माघ २०७४ ०८:२९ मंगलबार

पौडेल पक्षको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाए