राजनीति

राष्ट्रियताको विषय आउँदा गठबन्धन सरकार टाउको निहुर्‍याउँछ: अध्यक्ष ओली

सङ्कल्प यात्राका क्रममा कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: उमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको विषय आउँदा वर्तमान गठबन्धन सरकारले टाउको निहुर्‍याउने गरेको आरोप लगाएका छन्।

नेकपा एमालेले सुरु गरेको 'बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’ को नवौं दिनमा पोखरा २७ तालचोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन सरकारले टाउको निहुर्‍याउने गरेको आरोप लगाएका हुन्।

गठबन्धन सरकारले जनतासँग सरोकार पनि नराखेका र विकास निर्माणलाई पनि ध्यान नदिएको भन्दै उनले भने,'राष्ट्रियताको पक्षमा उनीहरु शिर निहु¥याउँछन् । नत विकास निर्माणमा ध्यान छ, नत जनतासँग सरोकार नै छ।’

अध्यक्ष ओलीले वर्तमान सरकार र यसमा सहभागी पार्टीबाट देश निर्माण नहुने दाबी गरे। देश र जनताको भविष्य बनाउन एमाले एमालेबाहेक अरूले नसक्ने उनको ठोकुवा थियो। अहिलेको सरकार र त्यसमा सहभागी दलहरु देशको अवस्था सुधार्न भन्दा एमालेको विरोध गर्नमा लगाएको उनले बताए। गठबन्धन सरकार र यसमा आबद्ध दलहरूबाट देश निर्माण नहुने भन्दै उनले भने,'एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भइसक्यो, त्यही भएर एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनी स्वरूप हामीले संकल्प यात्रालाई अगाडि बढाएका हौँ।’ एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दो अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउँदै नयाँ आशाको सञ्चार गराउने उनले बताए।

ओलीले सङ्कल्प यात्राका क्रममा गरिएको भेटघाटमार्फत जनताका समस्या बुझ्ने, सुन्ने, मागहरू संकलन गर्ने र ती समस्याको समाधान कसरी खोज्ने काम भइरहेको बताए। 'सङ्कल्प यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय हामी काठमाण्डौं पुगेपछि सम्बोधन गर्छौं’ उनले भने।

कार्यक्रममा ओलीलाई सारङ्गी उपहार दिइएको थियो। सारङ्गी उपहार पाएपछि उनले आफूलाई सारङ्गीको धुन अत्यन्त मनपर्ने भन्दै कहिबेर सारङ्गी रेटेका थिए।

प्रकाशित: २२ मंसिर २०८० ११:२२ शुक्रबार

अध्यक्ष केपी शर्मा ओली