राजनीति

अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन्।

बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिएपनि जनतामा आशाको सञ्चार नदेखिएको बताए। उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरे। उनले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताए। उनले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताए। प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभुति गराउनु आजको आवश्यकता भएको बताए। उनले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए। उनले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको बताए। नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनसके नेपालमा प्रचुर सम्भावना रहेको उनको भनाइ छ।

उनले भने,‘ अर्थतन्त्रको क्षेत्रमा विद्यमान आजको दबाबलाई चिर्न र देशभित्र लगानीमैत्री वातावरणसहित अर्थतन्त्रमा आशाको रक्तसञ्चार गर्न निरन्तर प्रयास गरिरहेको छु। अर्थतन्त्र सुधारको लागि केही दिन पहिला मात्रै सरकार, निजी क्षेत्र र अर्थतन्त्रका जानकारहरुसँग वृहत अन्तरक्रिया गरे। त्यसपछि महत्वपूर्ण घोषणाहरु भएका छन्। यसले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्नेछ। तथ्याङ्कहरुमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ। तर व्यवहार र आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ। अर्थतन्त्रमा केन्द्रित रहेर वृहत बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु। यसमा पनि सबैको साथ सहयोग रहने छ भन्ने विश्वास लिएको छु। बुधवार मात्रै शासकिय सुधारमा केन्द्रित रहेर नेपाल सरकारका बहाल वाल र भुतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको वृहत गोष्ठीको आयोजना गरियो। त्यसबाट समेत केही सुझावहरु समेत प्राप्त भएका छन्। शासकीय सुधार गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौं। व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवार बोधको अनुभुति गराउनु आजको आवश्यकता बन्न गएको छ। अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास एक थरी मान्छेहरुले गरेका छन्। यसबाट देशले कहिल्यै पनि प्रगति गर्न सक्दैन। त्यो ओरालो यात्रा मात्रै हुनेछ। आशा जगाउनु अहिलेको चुनौतिपूर्ण अवस्था रहेको ठानेको छु। आशा बिना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन। हामीसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनेतिर हामी सबै लाग्यौं भने नेपालमा प्रचुर सम्भावना छ। जहाँबाट नेपालले विकासको यात्रा तिब्र गतिमा अगाडि बढाउन सक्छौं।’

प्रकाशित: २१ मंसिर २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App