राजनीति

वामपन्थी एकताका तीन आधार – नेता खनाल

काठमाडौं – नेकपा एमालेका नेता झलनाथ खनालले वाम एकताका तीन आधार रहेको बताएका छन्।

पुष्पलाल अध्ययन  समाजले  आयोजना गरेका कम्युनिष्ट पार्टीविचको एकता रणनीति र कार्यनिती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले माक्र्सवाद र लेनिनवादलाई  हेर्ने  समान दृष्टिकोण,  प्रतिस्पर्धात्मक  लोकतान्त्रिक  व्यवस्था तथा  समाजवादको लक्ष्य  जस्ता विषयमा  समानता नै पार्टी एकताका  प्रमुख आधारहरु भएको बताए।  प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाबाट  नै  समाजवादको बाटो तय गर्नुपर्ने भन्दै उनले संविधानले समाजवादलाई  मार्गदर्शनको रुपमा अंगीकार गरिसकेकाले   समाजवादलाई मान्दिन भन्नु असंवैधानिक हुने उल्लेख गरे।

यसै गरि उनले दुई पार्टीबीच छिट्टै एकता हुने बताए। पार्टी एकताको उद्देश्यले जाने हो भने एकताको प्रचुर सम्भावना रहेको उनको भनाई छ। निर्वाचनमा जनताले एउटै पार्टीलाई जसरी मतदान दिएकाले पार्टी एकता हुन्न भन्नुको तुक नरहेको नेता खनालले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता  नारायणकाजी श्रेष्ठले दुई पार्टी बीचको  रणनीति र कार्यनीतिमा समानता नै एकताको प्रमुख आधार रहेको बताए। संघर्ष गरेर ल्याएको संविधानको कार्यान्वयन र विकास गर्ने, प्रतिस्पर्धात्मक तबरबाट वामपन्थी सरकार बनाउने, सामाजिक न्यायसहितको समृद्ध  नेपाल बनाउदै समाजवादको बाटोमा  अगाडी बढ्ने जस्ता मुल राजनीतिक कार्यनीतिमा समानता रहेकाले पार्टी एकता हुने उनको ठोकुवा छ।

प्रकाशित: २९ पुस २०७४ १५:३३ शनिबार

वामपन्थी एकताका आधार नेता खनाल