राजनीति

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

काठमाडौँ (रासस)- सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो।

अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ। मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो।

अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ। अहिले करिब ८३ हजार निजामती कर्मचारी छन्।
 

 

प्रकाशित: २८ पुस २०७४ ०९:२७ शुक्रबार

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी