राजनीति

दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छिन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा ‘क्लाइमेट चेन्ज’को असर कम नहुने बताएकी हुन्।

जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको रानाको भनाइ छ। 

‘तपाईंहरू कोको गएर आउनुभयो, कोप २८ मा? क्लाइमेट चेन्जमा धेरै जना जानु भएको छ ,उनले भनिन्, ‘क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन।’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा संयुक्त अरब इमिरेट्सको दुबई यही मङ्सिर १४ गतेदेखि २६ गतेसम्म भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यस सम्मेलनमा भाग लिएर स्वदेश फर्किसकेका छन्। नेपालले यस सम्मेलनलाई धेरै महत्त्व दिएको छ। दर्जनौँ सरकारी अधिकारीलगायत विभिन्न सरोकारवाला निकायका धेरै व्यक्तिहरूले यो सम्मेलनमा भाग लिइरहेका छन्।

प्रकाशित: २० मंसिर २०८० ०५:२४ बुधबार

उपसभामुख इन्दिरा राना दुबई जलवायु परिवर्तन जलवायु परिवर्तनको असर कम