राजनीति

राजपाले आज अन्तिम नाम बुझाउने

काठमाडाैँ– राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका सांसदको अन्तिम सूची आज (शुक्रबार) निर्वाचन आयोगमा  बुझाउने भएको छ । 

अन्तिम सूचीमा प्रदेशसभा समानुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा   सिफारिस भएका नाममध्ये केही फेरबदल हुने भएको छ। यसअघि निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसख्याअनुसार नमिलेको भन्दै आयोगले  अस्वीकार गरेपछि राजपाले अर्को सूची बुझाउन लागेको हो। 

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले शुक्रबार राजपाले प्रदेशसभाका समानुपातिक अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निश्चित भएको बताए। शुक्रबार पठाउने नयाँ सूचीमा केही नाम फेरबदल हुने पनि उनले जानकारी गराए। उनले भने, ‘केही नाम फेरबदल हुन्छ । जो भए पनि पार्टी भित्रकै साथीहरू हुन्,’उनले भने । गत पुस १४ गते राजपाले प्रदेशसभाका समानुपातिका सांसदको सूची निर्वाचन आयोगमा बुझाएको थियो । सो सूचीबारे राजपाभित्रै विवाद उत्पन्न भएको थियो । निर्वाचन आयोगमा पठाएको सूचीको विरोध गर्दै राजपाकै केही कार्यकर्ताले पार्टी कार्यालयसमेत तोडफोड गरेका थिए । यस विषयमा छानबिन गर्न पार्टी कार्यलयले तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको थियो । सो समितिले केही दिनअघि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिवेदन पनि बुझाइसकेको छ । पार्टी कार्यालय तोडफोड गर्नेहरूलाई कारबाही गर्न समितिले पार्टी नेतृत्वलाई  सिफारिस गरेको थियो ।  समितिले तोडफोडको घटनामा  मधेसी निजामती कर्मचारी मञ्चलाई दोषी देखाए पनि मञ्चका पूर्व अध्यक्ष विनोद सिहंलाई भने तोडफोडमा संलग्न नभएको प्रतिवेदनमा  जनाएको थियो। 

राजपा निकट स्रोतका अनुसार शुक्रबार बुझाइने नयाँ सूचीमा ४ व्यक्तिको नाम  फेरदबदल हुने भएको छ । पुरूषतर्फ एकजना र महिलातर्फ तीनजनाको नाम फेरबदल हुने पार्टी स्रोतको भनाइ छ। निर्वाचन आयोगमा अन्तिम सूची  बुझाउनुअघि पार्टी कार्यलय बबरमहलमा राजपाका अध्यक्ष मण्डलको बैठक बस्ने भएकोछ। बैठकले अन्तिम सूची तय गर्ने अध्यक्षमण्डलका सदस्य यादवले बताए। 

स्रोतका अनुसार  बिहीबार भएको अनौपचारिक छलफलमा पुरूषतर्फ रामप्रवेश बैठा, महिलातर्फ पुनम यादव, विभा ठाकुर र लैलाा खातुनको नाम हटाइने सम्भावना भएको स्रोतले बतायो । थपिने नाममा नेत्रबिक्रम साह, रिना यादव, अल्का झा र निरा साहको सम्भावना रहको स्रोतको दाबी छ । तर शुक्रबार बिहान बस्ने बैठकमा ती नाममा पनि फेरबदल हुन सक्ने स्रोतको दाबी छ । राजपाले यसअघि पठाएको सूचीमा पुरूषतर्फ प्रदेश दुईबाट रामनरेश राय, राम प्रवेश बैठा  र जानकीशरण साहको नाम सिफारिश गरिएको थियो । तीमध्ये राय पार्टीका वरिष्ठ नेता हुन् भने बैठा सर्लाही र साह महोत्तरीका हुन् । साहले प्रतिनिधिसभाको चुनावमा अध्यक्ष मण्डलका सदस्य शरतसिहं भण्डारीलाई विजयी गराउन ठूलो भूमिका निभाएका थिए । यसैगरी महिलातर्फ डिम्पल झा, वविताकुमारी चौधरी, मिलनदेवी भुमियार, लैला खातुन, पुनम यादव र अञ्जकुमारीको नाम सिफारिस गरिएको थियो । तीमध्ये डिम्पल झा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । यता, राजपा अध्यक्ष मण्डलका सदस्यले फेरबदल हुने सम्भावित नाम बिहीबार रातिसम्म गोप्य राखेका छन्। 

राजपाबाट प्रदेशसभाको समानुपातिकक सूचीका आकांक्षी विनोद सिहंले निर्वाचन आयोगमा कललष्ट मिलाएर पठाउँदा आफ्नो नाम पर्नुपर्ने दाबी गरे ।यसैगरी अर्का आकांक्षी डा. सुरेन्द्र झाले निर्वाचन आयोगमा पठाइने प्रदेशसभा समानुपातिक सांसदको अन्तिम सूचीमा आफ्नो नाम रहनेमा आफू ढुक्क भएको प्रतिक्रिया दिए। 

प्रकाशित: २८ पुस २०७४ ०४:०९ शुक्रबार

राजपाले अन्तिम नाम बुझाउने