राजनीति

गृहमन्त्री श्रेष्ठ गङ्गालाल हृदय केन्द्रमा भर्ना, मुटुको शल्यक्रिया गरियो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मङ्गलवार राति उनको शहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा मुटुको सफल शल्यक्रिया गरिएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो।

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि राति अस्पताल भर्ना गरिएको थियो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ।

मन्त्रालयले शल्यक्रिया पछि आइसीयूमा रहेका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था हाल स्थिर रहेको पनि जनाएको छ।

यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको बेला पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो।

प्रकाशित: २० मंसिर २०८० ०१:१९ बुधबार

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुको शल्यक्रिया शहिद गङ्गालाल हृदय केन्द्र छातीमा असहज