राजनीति

१५ दिनमा पार्टी एकता : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पन्ध्र तीनमा एकता हुने बताएका छन् । नियमति स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले १५ दिनमा दुई पार्टीबीच एकता हुने बताएका हुन् ।
‘अहिले मैले जवाफ दिन हतार हुन्छ । २÷४ वर्ष ढिलो हुने भए एउटा कुरा थियो । अबको १५ दिनमा एकता हुन्छ,’ ओलीले भने, ‘हामीलाई नेताको नभई जनताको व्यवस्था हुन्छ ।’
उनले एमाले र माओवादी केन्द्रमा एकताबाट आत्तिएका सुर्तिएका शक्तिहरूले यसलाई बिथोल्न नांगो, अलोकतान्त्रिक रूपमा लागेको बताए ।
‘मामिलामा हस्ताक्षेप गर्ने, अरू पार्टीको एकतामा हस्ताक्षेप गर्ने, एकता देख्न नसक्ने, स्थिरतातर्फ जान नदिने अस्थिरतामा फर्काउन खोज्नेहरू खुलेयाम घोषणाकासाथ केही प्रतिक्रियावादी भूमिकामा उद्दत भएको देखिन्छ,’ ओलीले भने, ‘यी प्रयासहरू सफल हुँदैनन् । यो तालमेल विकसितहुँदै पार्टी एकता हुन्छ ।’
स्वास्थ्यमा खास समस्या केही नभएको बताउँदै ओलीले एक सातासम्म थाइल्यान्डमा स्वास्थ्य परीक्षण गरेर फर्किने जनाए । नेपाल फर्किदासम्म सरकारले प्रदेशको राजधानी र प्रमुख तोक्ने काम सम्पन्न गर्ने अपेक्षा लिएको बताए ।
‘पहिलो अध्यादेश रोकियो । प्रदेशको केन्द्र र प्रदेश प्रमुख सरकारले तोक्ने हो । अझै लम्ब्याउन सकिन्छ कि भनेर बसिरहेको छ । सरकारले चाँडै दुवै काम गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ ओेलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारले व्ल्याकमेलिङको सिकार भएको सुनिन्छ ।’

प्रकाशित: २७ पुस २०७४ ०३:०० बिहीबार

१५ दिनमा पार्टी एकता ओली