नेपाललाई युरोपियन युनियनले सेफ्टी लिष्टबाट नहटाएकोमा नेपाल वायु सेवालाई जोडेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुनै एक बायुसेवाको कमजोरीको कारण देशनै नागरिक उड्डयन क्षेत्र इयूको सेफ्टी लिष्टमा पर्दैन भन्ने कैयन उदाहरण भएको निगमले जनाएको छ।
निगमले आइतबार एक विज्ञप्ति प्रकाशित गरी युरोपियन युनियन (इयु) ले नेपाल कालो सूचीमा राख्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिनुमा आफ्नो कुनै दोष नभएको जनाएको छ।
निगमका प्रवक्ता रमेश पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक उड्डयन प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागु गर्ने जिम्मेवारी पुरा गर्न वर्तमान क्षमतामा विश्वस्त हुन नसकेको भनी इयूले बेल्जियमका लागि नेपाली राजदूतलाई जानकारी गराएको पत्र नेपालले प्राप्त गरेको स्मरण गराएको छ।
सन् २०१३ देखि इयुले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीमा राखेको छ। ईयूले गत मंगलबार नयाँ सूची सार्वजनिक गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई सुरक्षा चासो भन्दै कालोसूचीमै राख्ने निर्णय गरेको उल्लेख छ। प्रतिवेदनमा नेपाल सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको उल्लेख छ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सेवा प्रदायक र नियामक निकाय अलग हुनुपर्ने लगायतका सुझाव लाई कार्यान्वयन नगरेको भन्दै ईयूले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको जनाएको छ।
प्रकाशित: १७ मंसिर २०८० १२:१० आइतबार