ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन्।
अपाङ्गता भएका व्यक्तिको ३२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताएका हुन्।
‘हरेक वर्षको डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाउने गरिन्छ। हामीले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही न केही नयाँ काम गर्दै आइरहेका छौँ। यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराउने कार्यक्रम राखेका हौँ’, प्रमुख महर्जनले भने।
उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने उल्लेख गरे।
प्रकाशित: १७ मंसिर २०८० ०९:०० आइतबार