राजनीति

एमाले-माओवादी एकता संयोजन समितिको बैठक ओली निवासमा

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक ओली निवासमा । तस्विर: दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको एकताबारे तयारी गर्न पार्टी एकता संयोजन समितिको बैठक बसेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत दुवै पार्टीका शीर्ष नेता उपस्थित छन्।

असोज १७ गते एमाले र माओवादीबीचमा चुनावी तालमेल भएको थियो। निर्वाचन पछि पार्टी एकता गर्ने भनिए पनि त्यसले गति लिन नसकिरहेको अवस्थामा संयोजन समितिको बैठक बसेको हो। यस अघि कार्तिकमा संयोजन समितिको बैठक बसेको थियो।

संयोजन समितिको बैठक बस्नु अघि आइतबार दुई अध्यक्ष दाहाल र ओलीबीच छलफल भएको थियो। सोमबार एमालेको स्थायी कमिटी बैठक बसेर तयारी गरेको थियो भने सोमबार नै माओवादीका शीर्ष नेताहरु बसेका थिए। आजको बैठकले पार्टी एकताबारे सांगठनीक र राजनीतिक विषयलाई टुंगो लगाउन दुई कार्यदल बनाउने तयारी गरेको छ।  

प्रकाशित: २५ पुस २०७४ १०:४७ मंगलबार

एमाले-माओवादी एकता संयोजन समितिको बैठक ओली निवासमा