राजनीति

डा. केसीको गिरफ्तारीबारे कसले के भने ?

काठमाडौं- अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीबारे राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिन थालेका छन्। मंगलबार उनलाई अदालतमा उपस्थित गराइनु अघि राजधानीमा प्रदर्शन समेत भएको थियो। प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, विवेकशिल साझाका संयोजक रविन्द्र मिश्र समेत पुगेका थिए।

डा. केसी पक्राउबारे पूर्व प्रधानमन्त्री डा. भट्टराईले ट्विट गर्दै भनेका छन्, 'मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खीछु।डा.केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ।'

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ट्विट गर्दै भनेका छन्, 'डा.गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।"अदालतको मानहानि"लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत"भगवान"होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन्।'

यस्तै एमाले सचिव प्रदीप ज्ञवालीले ट्विटमा भनेका छन्, 'डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ। तर अदालत उहाँको विरुध्द जसरी प्रस्तुत भयो/ भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न। काम/ निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ।'

कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ट्विटमा भनेका छन्, 'सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु। हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।'

कांग्रेस नेता धनराज गुरुङले 'पहिले-पहिले अदालतको मानहानी मुद्वामा कसैलाई पनि रातारात पक्राउ गरेको कहिल्यै सुनेको थिइन। डा. गोबिन्द केसिको अभिव्यक्तिबाट अदालतको कस्तो मानहानी हुन पुगेछ श्रीमान? सरकारलाई थाहै नदिइकन उहाँलाई रातारात पक्राउ गर्नुपर्ने। जनता जान्न चाहन्छ?', सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पनि केसीबारे ट्विट गर्दै भनेका छन् 'नीतिमाथि जब नियत हावी हुन्छ , तब यस्तो हुन्छ!
विधिभन्दा ब्यक्ति बलशाली जब हुन्छ,तब यस्तो हुन्छ !!
गोपाल श्रीमान् ! एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउँ भन्यो त के आतंकवादी अपराधनै गर्‍यो?',

एमाले नेत्री रामकुमारी झाँक्रीले ट्विट गर्दै भनेकी छन्, 'प्रन्या गोपाल पराजुलीले न्यायलयको नेतृत्व गरेपछिका कयौ यस्ता फैसला छन् जसले उनको स्वभाविक र सहिसलामत बर्हिगमन त संभव देखिदैन थियो। यसैको श्रृंखला हो डा. गोविन्द केसीको कायरतापूर्ण गिरफ्तारी।'

प्रकाशित: २५ पुस २०७४ ०९:२९ मंगलबार

डा. केसीको गिरफ्तारीबारे कसले भने