राजनीति

वैचारिक र संगठनात्मक संरचना टुंग्याउन कार्यदल

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच कार्यदल निर्माण गरेर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ ओलीनिवास वालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

मंगलबार एकता संयोजन समितिको बैठक डाकेर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना कार्यदल गठन र त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।

दुवै नेताबीच आन्तरिक छलफलका लागि सोमबार पार्टी हाइकमाण्ड बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति भएको छ । संयोजन समितिको बैठकबाट कार्यदल गठन र त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।
‘वैचारिक तथा संगठनात्मक संरचना निर्माण गर्न कोर टिम बनाएर अघि बढ्ने सहमति भएको छ,’ एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले नागरिकसँग भने, ‘अध्यक्ष ओली नियमति स्वास्थ्य परीक्षणका लागि विदेश जानुअघि नै दुवै दलको हाइमाण्ड बैठकमा आन्तरिक छलफल गरेपछि र पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।’ ओली नियमित स्वास्थ्य जाँचका  लागि बुधबार बैंकक जाने कार्यक्रम छ ।
पार्टी एकता संयोजन समितिमा एमालेबाट ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितका नेता छन् ।
एकीकृत पार्टीले अपनाउने मार्ग निर्देशक सिद्धान्त मात्रै नभएर संगठन संरचना कस्तो हुने र मूल नेतृत्व कसले लिने भन्नेबारे दुवै दलभित्रबाट फरकफरक धारणा आइरहेका छन् । दुवै दलका दोस्रो तहका नेताले फरकफरक धारणा सार्वजनिक गर्दा पार्टी एकतामा चुनौती थपिएको अनुमान धेरैको छ ।
दुवै दलबीच सरकार र पार्टीको नेतृत्व कसले लिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । माओवादीले सरकार वा पार्टीको नेतृत्व जे लिने भए पनि ठूलो दलको नाताले एमालेले रोज्नुपर्ने र बाँकी जिम्मेवारी आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
एकताबारे एमालेका नेतैपिच्छे फरकफरक धारणा आएका छन् । यसले गर्दा पहिला मूल नेतृत्व, संगठन संरचना र सैद्धान्तिक विषयमा सहमति जुटाउनुपर्ने देखिएको छ । एमालेका केहीले पार्टीमा सहअध्यक्षको अवधारणा अघि सारेका छन् ।
माओवादीसँग पार्टी एकताबारे छलफल गर्न एमालेले सोमबार ओलीनिवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ ।
दाहाल र ओलीबीच मात्रै डेढ घन्टा वार्ता भयो । वार्ताका लागि दाहाल अपराह्न गृहजिल्ला चितवनबाट काठमाडौं आएका थिए । चुनावपछि दुवै अध्यक्षबीच पार्टी एकताबारे छलफल भएको यो तेस्रो पटक हो । एमाले अध्यक्ष ओलीले पार्टीका विभिन्न नेतासँग एकताबारे छलफल गर्दै आएका छन् ।  
असोज १७ गते दुवै दलले पार्टी एकता गर्ने घोषणासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका थिए । दुई दलको  गठबन्धनले सरकार बनाउन सुविधानजन बहुमत पाएको छ । 

प्रकाशित: २४ पुस २०७४ ०२:३७ सोमबार

वैचारिक संगठनात्मक संरचना टुंग्याउन कार्यदल