राजनीति

यी हुन् राष्ट्रियसभाबाट बाहिरिने २० सांसद

आगामी फागुनमा राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछ। पदमुक्त हुने सांसदमा चारवटा कलस्टरका १८, एक स्वतन्त्र र एक मनोनीत छन्। चारवटा कलस्टरमध्ये अन्य समूहका ६, महिला समूहका ७, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहका दुई, दलित समूहका ३ जना छन्। त्यस्तै स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत डा. विमला राई पौड्यालको पदावधि पनि फागुन २० गते सकिँदै छ।

प्रदेशगत आधारमा हेर्दा पदावधि सकिनेमा कोसीका दुई, मधेसका दुई, वाग्मतीका चार, गण्डकीका तीन, लुम्बिनीका दुई, कर्णालीका तीन, सुदूरपश्चिमका तीन छन्। रिक्त हुने मनोनीत कोटामा राष्ट्रपतिबाट मनोनयन गरिने छ।

मनोनीतबाहेक रिक्त पद निर्वाचनबाट पूर्ति गरिने छ। त्यसका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ। नवनिर्वाचितले फागुन २० गते पद तथा गोपनीयताको शपथ लिनेछन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल पनि फागुन २० मा सकिने भएकाले नयाँ आउने सदस्यलाई सभाका ज्येष्ठ सदस्यबाट पद तथा गोपनीयताको शपथ गराइने छ। शपथग्रहण गरेपछि नयाँ अध्यक्षका लागि निर्वाचन गरिनेछ।

फागुन २० मा पदावधि सकिने सांसदमा कांग्रेसका चारजना छन्। जसमा लुम्बिनी प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित अनिता देवकोटा, मधेस प्रदेश अन्य समूहबाट निर्वाचित जितेन्द्रनारायण देव, गण्डकी प्रदेशबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहबाट निर्वाचित प्रकाश पन्थ र कोसी प्रदेश अन्य समूहबाट निर्वाचित रमेशजंग रायमाझी छन्। त्यस्तै एमालेबाट निर्वाचित आठ सांसदको पदावधि सकिँदै छ।

जसमा गण्डकी प्रदेश अन्य समूहबाट निर्वाचित तिमिल्सिना, सुदूरपश्चिम प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित इन्दु कडरीया र लुम्बिनी प्रदेशबाट अन्य समूहको कोटामा उपनिर्वाचनबाट निर्वाचित कुमार दसौदी छन्। लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि भएको उपनिर्वाचनबाट दसौदी निर्वाचित भएका हुन्।

त्यस्तै पदावधि सकिने एमाले सांसदमा गण्डकी प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित दिपा गुरुङ, वाग्मती प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित दिलकुमारी रावल थापा(पार्वती), कर्णाली प्रदेशबाट दलित समूहको कोटामा निर्वाचित नरपति लुवार, कर्णाली प्रदेशबाट अन्य समूहको कोटामा निर्वाचित भैरव सुन्दर श्रेष्ठ, वाग्मती प्रदेश अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको कोटाबाट निर्वाचित रामचन्द्र राई छन्।

फागुनमा पदावधि सकिने माओवादी केन्द्रका सांसद तीनजना छन्। सुदूरपश्चिम प्रदेशबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूदायको कोटाबाट निर्वाचित महेशकुमार महरा, कोसी प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित विना पोखरेल र सुदूरपश्चिमबाट अन्य समूहको कोटामा निर्वाचित हरिराम चौधरी छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीका नन्दा चपाई (कर्णाली प्रदेशबाट महिला समूह कोटाबाट निर्वाचित) र सिंहबहादुर विश्वकर्मा (वाग्मती प्रदेशबाट दलित समूहको कोटामा निर्वाचित) को पदावधि पनि फागुन २० मा सकिँदैछ।

त्यस्तै जनता समाजवादी पार्टीकी प्रमिला कुमारीको पदावधि पनि सकिँदै छ। उनी मधेस प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित भएकी हुन्। पदावधि सकिन लागेका स्वतन्त्र सांसद देवकोटा वाग्मती प्रदेशबाट निर्वाचित भएका हुन्।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापालाई पार्टीले कारबाही गरेपछि रिक्त पदमा भएको निर्वाचनबाट देवकोट निर्वाचित भएका हुन्। संविधानको व्यवस्थाबमोजिम राष्ट्रपतिबाट मनोनीत पौड्यालको पनि पदावधि सकिँदै छ।

राष्ट्रिसभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ। जसअनुसार संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष सकिएर नयाँ सदस्य आइसकेका छन्। बाँकी एक तिहाइ सदस्यको छ वर्षको पदावधि पनि फागुनमा सकिन लागेको हो।

प्रकाशित: १४ मंसिर २०८० ०१:४६ बिहीबार

राष्ट्रियसभाबाट बाहिरिने २० सांसद राष्ट्रिसभाका सदस्यको पदावधि ६ वर्षको