राजनीति

शिलालेख विवाद: राजा कि पूर्व राजा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।

राजानै नभएको देशमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाह’ लेखिएको शिलालेख संविधान विपरीत भएको उल्लेख गर्दै चौतर्फी दबाब आएपछि बिर्तामोड–१ स्थित इकम कलेज समेत विवादमा तानिएको छ। 

उक्त इकम कलेजकै परिसरमा बनाइएको पृथ्वीनारायण शाहको सालिकसँगै रहको उक्त शिलालेख पूर्व राजा ज्ञानेन्द्र शाहले अनावरण गरेका थिए। कलेजले किन संविधान उलङ्घन गरेर शिलालेख तयार गर्‍यो भन्ने? स्थानीय तह र निकायहरूबाट उठेपछि उक्त शिलालेख हटाउन थालिएको बताइएको छ। 

कलेजले देशमा राजतन्त्र भए जस्तो गरी शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ उल्लेख गरेको थियो। त्यही शिलालेख पूर्व राजा ज्ञानेन्द्रले अनावरण गरेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इकम कलेजले शिलालेख सुधारेर राख्ने प्रतिवद्घता जनाएको जानकारी दिएका छन्। ‘उहाँहरूले शिलालेख सुधारेर राख्छु भन्नुभएको छ, सुधारिसक्नु भएको होला’, उनले नागरिकन्यूजसँग भने। 

कलेजले संविधान विपरीत काम गरेको भन्दै स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि बढाएपछि उक्त शिलालेख सुर्धान लागिएको हो।  

पूर्व राजा ज्ञानेन्द्र शाह गत शुक्रवार झापा गएका थिए। उनी शनिवार काठमाडौँ फर्किएका हुन। पूर्व राजाको भ्रमण सफल बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले १० दिनदेखि झापामै थिए। मेची रिसोर्टमा बसेका पूर्व राजा ज्ञानेन्द्रले झापा भ्रमणका क्रममा राप्रपाका स्थानीय नेताहरूसँग भेटघाट पनि गरेका थिए।  

उनले राप्रपाका रोशन कार्की, राजेन्द्र गुरुङ, भक्ति सिटौला, गोपाल दाहाल, सगुन लावती खुस्बु ओलीलगायतका नेताहरूसँग भेटघाट गरेको बुझिएको छ ।

प्रकाशित: १३ मंसिर २०८० ०३:३३ बुधबार

पूर्व राजा ज्ञानेन्द्र शाहले झापा बिर्तामोड पृथ्वीनारायण शाह