राजनीति

काँग्रेसका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकिए

नेपाली काँग्रेस पार्टीका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकेको छ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ४२ (१) च अनुसार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घमा बालकृष्ण दाहाल (ओखलढुङ्गा), नेपाल भूतपूर्व सैनिक सङ्घमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) नियुक्त गरेका हुन्। नेपाल ठाकुर संघको केन्द्रीय समिति विघटन गरेको लामो समय भएपनि अझै अध्यक्ष तोकिएको छैन।

काँग्रेसका १३ वटा भ्रातृ संगठन छन्। पार्टीभित्रको किचलोले भ्रातृ सङ्गठनहरूको आवधिक महाधिवेशन हुन सकेको छैन। महाधिवेशन त परको कुरा भयो लामो समयसम्म भ्रातृ सङ्गठनहरूको केन्द्रीय समितिसमेत गठन हुन सकेको छैन। बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि पदाधिकारी र सदस्य तोकिएका छैनन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहित केही भ्रातृका संगठनका केन्द्रीय नेतृत्व तोकिए पनि पार्टी नेताहरूको गुटगत झगडाले पदाधिकारी तोकिएका छैनन्।

गुटगत भाग मिलाउन विधानको व्यवस्था विपरीत जथाभाबी भ्रातृ सङ्गठनको केन्द्रीय नेतृत्व तोकिएको छ । जसले गर्दा गठन भएका भ्रातृ संगठनका समिति पनि निकम्मा बन्न पुगेका छन्।

प्रकाशित: १२ मंसिर २०८० ०८:५८ मंगलबार

नेपाली काँग्रेस