राजनीति

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

सर्वदलीय बैठकमा सहभागी नेताहरु। तस्बिर : दीपेश श्रेष्ठ

काठमाडौं- बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।

माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूहरुले मुख्य तीन कुरामा छलफल चलाएको बताए। उनका अनुसार राष्ट्रिय सभाको मिति, प्रदेश प्रमुख तोक्ने र सत्ता हस्तान्तरणको बाटो खोलिदिने विषयमा कुराकानी भएको थियो।

श्रेष्ठले प्रधानमन्त्री देउवालाई यो कामचलाउ सरकार भएकाले जथाभाबी राजनीतिक नियुक्तहरु नगरिदिन पनि आग्रह गरेको बताए। 'यो कामचलाउ सरकार हो। निर्वाचनपछि जनताले जनादेश दिइसकेको अवस्थामा यो सरकारले जथाभाबी नियुक्तिभन्दा पनि सत्ता हस्तान्तरणको बाटो खोलिदिनपर्छ। हामीले यही विषयमा छलफल चलायौं,' उनले सञ्चारकर्मीसँग भने।

यता प्रधानमन्त्री देउवाले भने प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा बाम नेताहरुसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव एमाले नेताहरुले अस्विकार गरेका थिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन्।  

प्रकाशित: २० पुस २०७४ ०६:११ बिहीबार

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन