राजनीति

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ : दाहाल

काठमाडौं- नेकपा एमाले र माओवादीबीच एकीकरण गर्ने उद्घोषसहित निर्वाचनमा होमिएका कारण वाम गठबन्धन झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको छ । तर, निर्वाचनअघि गरिएको प्रतिबद्धताअनुसार एकीकरण प्रक्रिया अघि नबढेको मौकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । बुधबार पेरिसडाँडामा अध्यक्ष दाहालले सञ्चारकर्मीको जिज्ञासामा कांग्रेसले गरेको प्रधानमन्त्रीको ‘अफर’ अस्वीकार गरेको बताएका छन् । सञ्चारकर्मीसँगको उनको संवाद यस्तो थियो।
सरकार गठन कहिले हुन्छ ?
सरकार छिटोभन्दा छिटो गठन गर्नु उचित हुन्थ्यो, कानुनको केही व्यवस्थाले गर्दा ढिलाइ भएको छ तैपनि अध्यादेश र राष्ट्रियसभाको चुनाव प्रक्रिया अगाडि बढेको हुनाले अब बाधा केही पनि छैन । सरकार गठनका लागि प्रक्रिया खुलेको छ, अवरोध केही पनि छैन ।

संयोजन समितिको बैठक बस्न सकेको छैन, पार्टी एकता  कहिले हुन्छ ?
पार्टी एकताका लागि छलफल अगाडि बढिरहेको छ । एकदुई दिनयता प्राविधिक कारणले रोकिएको छ । सम्भवतः आजभोलि छलफल हुन्छ । एकता संयोजन समितिको बैठक पनि बस्छ । कुनै समस्या परेर बैठक नबसेको भने होइन ।

कांग्रेसले प्रधानमन्त्रीको अफर गरेछ, मान्नुभएन ?
त्यस्तो सोचेको छैन । अहिले वाम गठबन्धन बनाएर निर्वाचन लड्यौं । एकताको संकल्प गरेर निर्वाचन लड्यौं । जनताले त्यसैलाई अनुमोदन गरेको हुनाले अहिले मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।

पार्टी अध्यक्ष नपाएसम्म नगर्ने भनेको हो ?
त्यो कुरा पनि सही होइन ।

सही के हो त ?
पार्टी संयोजन समितिमा दुई नेता भनिएको छ, दुईवटा नेता कार्यकारी भूमिकामा रहनुपर्छ भन्ने कुरामा विवाद छैन । त्यो कुरालाई औपचारिक रुप दिन मात्रै बाँकी छ, समस्या केही पनि छैन ।

प्रकाशित: २० पुस २०७४ ०३:५८ बिहीबार

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ दाहाल