राजनीति

सामाजिक सुरक्षाका कार्यक्रम सबै नागरिकसम्म पुर्‍याउछौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षाका कार्यक्रम सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। 

सामाजिक सुरक्षा कोषले आयोजना गरेको छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

‘सामाजिक सुरक्षा कार्यक्रम सबै नागरिकसम्म  पुर्‍याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी हुन दिँदैनौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधारका रुपमा सामाजिक सुरक्षा कार्यक्रम ल्याएको हो।’

प्रधानमन्त्री दाहालले नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउने बताए।

प्रधानमन्त्री दाहालले सुरुवाती चरणमा सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधाहरु थप गर्दै योगदानकताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको बताए। ‘स्वास्थ्यमा सबैको सहज पहुँच पुर्‍याउनु पर्छ,’ उनले भने।

नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग  आफूले बताएको बताए। संविधानमा व्यवस्था भएको समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको उनको तर्क थियो।

प्रकाशित: ११ मंसिर २०८० १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App