राजनीति

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु : महामन्त्री कोइराला

काठमाडौँ –  नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन्। 

लोकतान्त्रिक विचार समाजले बुधबार आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन्। “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उनले भने। 

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उनको भनाइ थियो । 

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताए। 

समाजका अध्यक्ष प्रा डा जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए। “काँग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौँ,”– उनले भने। 

भर्खरै स्थापना भएको समाजलाई विस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले बताए। सो अवसरमा नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महामन्त्री डा कोइरालालाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: १९ पुस २०७४ १४:४३ बुधबार

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु  महामन्त्री कोइराला