राजनीति

खर्च विवरण बुझाउन आलटाल

जुम्ला – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको डेढ महिना बितिसक्दा उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन परिणाम घोषणा भएसँगै अधिंकाश उम्मेदवारहरु राजधानीमा भएकाले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेको जानकारी गराएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान भएपनि नेकपा एमालेका पदमबहादुर रोकाया र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले, शिवलाल डाँगी र गोर्खबहादुर वुढाबाहेकका उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । ‘निर्वाचनको नतिजा आएलगत्तै अधिकांश उम्मेदवारहरु राजधानी पुगेका छन् । यहाँ रहेका केही उम्मेदवारबाहेकलाई पटक–पटक अनुरोध गर्दापनि अहिलेसम्म कुनै किसिमको प्रतिक्रिया दिएका छैनन्,’जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले भने,‘तोकिएको मितिसम्म खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग केन्द्रिय कार्यालयले कारवाही गर्नेछ ।’

प्रतिनिधि सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । प्रदेश सभा सदस्य निर्वाचनका लागि १० जनाले उम्मेदवारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २५ लाख रुपैँया  र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले  १५ लाख रुपैँयासम्म खर्च गर्न पाउने मापदण्ड तोकेको थियो ।

प्रकाशित: १९ पुस २०७४ ०८:१६ बुधबार

खर्च विवरण बुझाउन आलटाल