राजनीति

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

आइजीपी बढुवामा कार्य सम्पादन मूल्याङकन फारममा किर्ते गरेको आरोप उनीमाथी छ। अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकोले पक्राउको लागि पत्र काटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले बताए। 'अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएको र सिलवालको स्थायी ठेगाना ललितपुरमा भएकोले पक्राउ गरी बुझाउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएका हौं', धानुकले भने।

सिलवालले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले प्रकाश अर्याललाई आईजीपी बनाउने सरकारी निर्णय अनुमोदन गरेपनि फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थिएन। सर्वोच्चले अदालतमा सिलवालले रिटसँगै पेस गरेको कार्यसम्पादन मूल्याङकन फारम किर्ते गरेको उल्लेख गर्दै किर्तेमा संलग्नको खोजी गरी कारबाहीको दायरामा ल्याउन सरकारको नाममा आदेश जारी गरेपछि काठमाडौं परिसरले पुस ५ गते जाहेरी दर्ता गरेको थियो। सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय आएको पत्र आयुक्त कार्यालय हुँदै काठमाडौं परिसर पुगेपछि आरोपी किटान नगरी जाहेरी दर्ता गरेको थियो।

 परिसरले सिलवालको नाममा पत्र काटेकाले उनी किर्ते प्रकरणमा औपचारिकरुपमै तानिएका छन्। यस अगाडि गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा गठन गरेको छनविन समितिले पहिले कार्यसम्पादन मूल्याङकन फारम किर्ते भएको निष्कर्ष निकाल्दै सिलवाललाई दोषी देखाएको थियो। यसको अनुसन्धानको लागि समितिले सिलवाललाई दिनभर नियन्त्रणमा लिएर बयानपछि मुक्त गरेको थियो।

सिलवाल नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

सिलवाल क्वालालम्पुरमा

पक्राउ पुर्जी जारी गरिएका नवनिर्वाचित सांसद सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् । 
सिलवालमाथि म‌ंगलवार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उनी एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएका एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले दाबी गरेको राससले उल्लेख गरेको छ ।

प्रकाशित: १८ पुस २०७४ १४:३६ मंगलबार

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी सिलवाल भने क्वालालम्पुरमा