राजनीति

प्रसाईँको तीनकुने कार्यक्रम तनावपूर्ण हुने अनुमान, प्रशासन हाई एलर्टमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले आज गर्ने भनेको कार्यक्रममा पनि तनाव सिर्जना हुनसक्ने देखिएको छ। प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजोबाट राजधानीमा सुरु गरेको वृहत्त मुक्ति आन्दोलन आज तीनकुनेमा गर्ने भनिएको छ।

तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो। ‘उहाँहरूले आज तीनकुनेमा कार्यक्रम गर्ने भनेर सुनिएको छ। तर, स्थानीय प्रशासनसँग कुनै समन्वय गर्नुभएको छैन। हामी कार्यालयमा बसिरहेका छौँ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘तीनकुने निकै संवेदनशील क्षेत्र हो। नजिकै एयरपोर्ट र निषेधित क्षेत्र छ। 

उहाँहरुको हिजोको हर्कत र अभिव्यक्ति सुन्दा त्यहाँ कार्यक्रम गर्न दिइँदैन।’ संविधान प्रदत्त नागरिक अधिकारका रुपमा भेला हुन पाउने र कार्यक्रम गर्न पाउनुपर्ने हकअनुसार कार्यक्रम गर्न दिइने अवस्था रहेपनि सम्भावित अशान्तिपूर्ण आन्दोलन तीनकुनेमा गर्न नदिइने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

उनले भने, ‘हिजोको कार्यक्रम र पत्रकार सम्मेलनमा संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सीमा नाघेर बोल्नुभएको छ। हिंसा फैलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने किसिमका उत्तेजक अभिव्यक्तिहरू सुनिएका छन्।’ यती सुन्दासुन्दै जानाजान जोखिम निम्त्याउन तीनकुनेमा कार्यक्रम गर्न नदिइने उनले प्रस्ट पारे। ‘हुल अशान्त भए सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने हुनसक्छ। हुलदङ्गा हुनसक्छ। त्यसोभए अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)ले फरक नजरले हेर्छ।’  

स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा भीड आउनखोजे बल प्रयोग गरेर रोक्ने रणनीति बनाएको छ। जुनकुरा मौखिक रुपमा नै आन्दोलनकारी पक्षलाई जानकारी गराइसकेको छ। प्रमुख जिल्ला अधिकारी बस्नेतले आधिकारिक रुपमा छलफलमा आए बल्खु क्षेत्रमा कार्यक्रम गर्न दिने जनाएका छन्।

‘त्यो पनि हिजोको ठाउँमा होइन, अलि पर नै हो। त्यसको सहमति लिन पनि प्रशासन कार्यालयमा लिखित रुपमा आउनुपर्छ,’ उनले भने। उता प्रसाईँ समूहले भने तीनकुनेमै कार्यक्रम गर्ने हठ गरिरहेको छ।  

जसअनुसार कार्यक्रम नै सार्वजनिक गरिएको छ। प्रसाईँ स्वयम्ले फेसबुकमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने र महाअभियानमा सह प्रवक्ता राजानन्द माण्डव्यले कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्। ‘हिजो शान्तिपूर्ण गर्ने भनिएको कार्यक्रम अलि नियन्त्रणमा भएन। आन्दोलन हाम्रो नियन्त्रणबाहिर देखियो। मुख्य आयोजक नपुग्दै सह आयोजकहरूले स्टेज कब्जा गरेर मनगढन्ते कुरा गरेर कार्यक्रम नियन्त्रणबाहिर गयो,’ सहप्रवक्ता माण्डव्यले भने, ‘त्यसैले आजको कार्यक्रम नियन्त्रणमा राख्न एकढोकाबाट मात्रै कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिएको हो।’  

कार्यक्रम संयोजक प्रसाईँबाट पनि उत्तेजक अभिव्यक्ति सुनिएकाले अनियन्त्रित भएको उनले बताए। ‘संयोजकज्यु अलि उत्तेजक सुनिनुभएछ। त्यसले समस्या भयो। हाम्रो उद्देश्य कसैसँग लड्ने, भिड्ने भन्दा पनि शान्तिपूर्ण रुपमा आफ्ना माग राख्ने हो,’ उनले भने। यद्यपि आजको कार्यक्रम पनि पूर्ण रुपमा नियन्त्रित र शान्तिपूर्ण हुनेमा उनी आफै विश्वस्त देखिन्नन्।

प्रकाशित: ८ मंसिर २०८० ०४:५४ शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तनाव स्थानीय प्रशासन काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत