राजनीति

विकासमा राजनीति नगरौं: अख्तियार प्रमुख

खोटाङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणमा हुने राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन नसकेको बताएका छन्। २७ वर्षपछि गृह जिल्ला खोटाङको छोरम्बूमा आइपुगेका प्रमुख आयुक्त बस्न्यातले स्थानीयको सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुलुकको परिवर्तनका लागि विकास निर्माणमा भइरहेका अनावश्यक राजनीतिको अन्त्य हुनुपर्ने बताए। उनले विकासमा राजनीति नगर्न राजनैतिक दलका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरे। ‘विकास निर्माणमा हुने राजनीतिकरणले देशको विकास पछाडि धकेलिन्छ,’ प्रमुख आयुक्त बस्न्यातले भने, ‘त्यस कारण यसलाई रोक्नु पर्छ । अव विकासका नाममा राजनीति गर्ने होईन राजनीतिबाट विकास गर्नु पर्छ ।’ बस्न्यातले बाँडेको आश्वसन पूरा गर्ने तत्परता भए विकासका ढोका खुल्दै जाने उल्लेख गरे।

लामो समयपछि जन्मथलोमा आएका प्रमुख आयुक्त बस्न्यातलाई स्थानीयले उच्च पद सम्हालेर देशको सेवा गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेका छन् । प्रमुख आयुक्त बस्न्यात शनिबार दिप्रुङ गाउँपालिका–३ छोरम्बूमा केन्द्रीय विद्युत प्रशारण लाईन उद्घाटन गरेर राजधानी फर्किएका छन् । छोरम्बू आइपुगेका बस्न्यातले आफन्तसँग भेटघाट एबं बाल्यकालमा अध्ययन गरेको शान्ति निकेतन मिनाकर्ण माविको अवलोकन समेत गरेका थिए।  

प्रकाशित: १५ पुस २०७४ १०:२१ शनिबार

विकासमा राजनीति नगरौं अख्तियार प्रमुख