राजनीति

व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै वातावरण बनाइदियो: ओली

तस्बिर: बालकोट।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै अनुकूल वातावरण बनाइदिएको आरोप लगाएका छन्।

एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले मुलुकलाई प्रतिगमनतर्फ लैजाने कोसिस भएको बताउँदै त्यसलाई एमालेले सफल हुन नदिने दाबी गरे।

एमालेले व्यवस्था विरोधी गतिविधिहरू बढिरहेका बेला मध्यपहाडी लोकमार्गमा अभियान लिएर हिँड्न लाग्दा अवरोध गर्नेगरी प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको पनि ओलीले बताएका थिए। उनले यस्ता गतिविधि रोक्न एमाले अग्रसर हुने पनि बताए।

‘एमालेले अब  मुलुकलाई पछाडि फर्कन दिँदैन, प्रतिगमनतर्फ जान दिन्नौँ। देशलाई प्रतिगमनतर्फ जानतर्फ जानका लागि यो निकम्मा सरकारले अनुकूल वातावरण सिर्जना गरेको छ’ अध्यक्ष ओलीले सम्बोधनको क्रममा भने।

सम्बोधनकै क्रममै अध्यक्ष ओलीले युवा संघका कार्यकर्ताले महिलाहरुलाई बास बसेको ठाउँबाट उठाएर नखेदेको समेत बताएका थिए।

‘पार्टीको अभियानपछि आन्दोलनकारी नयाँ ढंगले अघि बढ्नुपर्ने हुन्छ, स्वार्थी तत्त्वहरू सडकमा आएका छन्। हामीलाई बदनाम गराउन लागिपरेका छन्। भिडियो जुन सार्वजनिक भएको छ। त्यसमा युवा संघको कुनै संलग्नता छैन’, ओलीले सम्बोधनको क्रममा भनेका थिए।

प्रकाशित: ६ मंसिर २०८० १०:४५ बुधबार