राजनीति

‘समायोजनमा कांग्रेसले बेवास्ता गर्यो’

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनावको केही दिनअघि नेपाली कांग्रेससँग एकीकरण गरेको तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरूले आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् ।
दुई दलबीच चुनाव सकिएलगत्तै गाउँदेखि जिल्लासम्म सबै तहमा सम्मानजक हैसियतमा समायोजन गर्ने सहमति भएको थियो । फोरम लोकतान्त्रिकबाट आएका नेताहरुले तत्काल जिल्ला तथा गाउँ समिति समायोजन हुनुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई लक्षित गरी गत असोज २९ गते तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच एकीकरण भएको थियो । केन्द्रमा दुई पार्टीबीच एकीकरण भएको घोषणा गरिए पनि जिल्ला तथा गाउँ तहमा समायोजन हुन सकेको छैन ।
फोरम लोकतान्त्रिकका ६४ जिल्ला समितिमध्ये परासीमा मात्र चुनावअघि समायोजन गरिएको थियो ।
तत्कालीन फोरम लोकतान्त्रिकका वरिष्ठ  महासचिव भारतेन्दु मल्लिकले दुई दलबीच एकीकृत हुँदा कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिमा फोरम लाकतान्त्रिकका १५ नेतालाई राख्ने र विजय गच्छदारलाई उपसभापति बनाउने सहमति भएको दाबी गरे । उनले भने, ‘सहमति कार्यान्वयन गर्न ढिलो भइसक्यो । चुनाव सकिएलगत्तै जिल्ला तथा गाउँ समितिहरू सम्मानजनक किसिमबाट नेपाली कांग्रेससँग समायोजन गर्ने भनिएको थियो ।’
मल्लिकले केन्द्रमा कांग्रेस र फोरम लोकतान्त्रिक एकीकृत भए पनि आफूहरु अलपत्रमा परेको बताए ।
कांग्रेस नेतृत्वले सहमति कार्यान्वयन नगरेकाले आफूहरुमा निराशा बढेको तत्कालीन फोरम लोकतान्त्रिकका महामन्त्री योगेन्द्र चौधरीले बताए । उनले भने, ‘केन्द्रमा दुई पार्टीबीच एकीकरण भएको घोषणा गरियो तर जिल्ला तहदेखि गाउँ तहमा समायोजन प्रक्रिया अघि नढ्दा हामी अन्योलमा छौं । ’
तत्कालीन फोरम लोकतान्त्रिकका एकदुई दिनभित्रै आन्तरिक बैठक गरी आगामी रणनीतिबारे छलफल गर्ने तयारी भएको  चौधरीले जानकारी दिए । उनले भने, ‘विजय दाइ (विजय गच्छदार अस्वस्थ भएकाले आन्तरिक बैठक गर्न केही ढिलो भएको हो । उहाँ स्वस्थ हुनेबित्तिकै छलफलमा जुट्छौं ।’
तीनकुनेमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय यथावत् छ । तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरू अहिले पनि पार्टी कार्यालय तीनुकनेमा जाने गरेका छन् ।
पार्टी एकीकरण भएपछि दुई नेताले मात्र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव जितेका छन् । प्रतिनिधिसभामा सुनसरीबाट विजय गच्छदार र प्रदेशसभामा मोरङबाट चुमनारायण चौधरी विजयी भएका छन् ।
कांग्रेससँग एकीकृत भएपछि पनि फोरम लोकतान्त्रिकका नेताहरु  शिवलाल थापा, भानुराम चौधरीलगायतले फोरम लोकतान्त्रिक कायमै रहेको घोषणा गरेका थिए । यस्तैे जितेन्द्र देव, यशोदा लामालगायतका नेता  चुनावमा निष्क्रिय भए । दुवैजना सरकारमा  रहेकाले  एकीकरणको विपक्षमा जान नसकेको स्रोतको भनाइ छ । स्रोतका अनुसार देव वाम गठबन्धनमा जाने तयारीमा छन् ।
फोरम लोकतान्त्रिकका नेता उमाशंकर अरगरिया र सन्तोष पाण्डे चुनावअघि नै संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

प्रकाशित: ११ पुस २०७४ ०२:३७ मंगलबार

समायोजनमा कांग्रेसले बेवास्ता गर्यो