राजनीति

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग

काठमाडौँ (रासस)-  नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ।

नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए।  

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधान रहे पनि रोक्नु संविधान विपरीत भएको बताए। अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले अध्यादेश रोकेर संवैधानिक संकट ल्याउन नहुने बताए।

कार्यक्रममा नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सेना, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, केन्द्रीय सदस्य सुशील भट्ट र रत्नहरि ढुंगेल, नेविसंघ नेता विपीन अधिकारी, दुजाङ शेर्पालगायतले अध्यादेश तत्काल स्वीकृत नगरे सोमबारदेखि देशभर आन्दोलन गरिने चेतावनी दिए।

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि उक्त अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ । राष्ट्रियसभाको गठनबारे नेपाली काँग्रेस एकल संक्रमणीय तथा नेकपा (एमाले) बहुमतीय प्रणालीका पक्षमा छन्।
 

 

प्रकाशित: ९ पुस २०७४ १०:३४ आइतबार

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग