राजनीति

कांग्रेसका शीर्ष नेता रक्षात्मक, युवा आक्रामक

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पराजित भएसँगै पार्टीका सबै शीर्ष नेता रक्षात्मक बनेका छन् । अधिकांश शीर्ष नेता नै पराजित भएपछि पार्टी हारको विषयमा उनीहरू ‘तैं चुप मैं चुप’ छन् भने युवा नेताहरू पार्टी पुनर्संरचना जरुरी रहेको भन्दै नेतृत्वप्रति आक्रामक देखिएका छन् ।

अधिकांश शीर्ष नेता नै निर्वाचनमा पराजित भएपछि आफूलाई जोगाउन रक्षात्मक अवस्थामा पुगेका छन् ।

प्रत्यक्ष निर्वाचनमा पार्टी खुम्चिएर तेस्रो स्थानमा पुगेपछि त्यसको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पक्षीय नेताहरूले नेतृत्वमाथि दबाब बढाउने आकलन गरिएको थियो । तर, पौडेल, सिटौलासहित निकटका नेताहरू नै पराजित भएपछि उनीहरू आफैं प्रतिरक्षात्मक बन्न पुगेका हुन् ।
पार्टीभित्र प्रतिपक्षी दलको नेताको भूमिकामा रहेका पौडेल प्रतिनिधिसभा सदस्यमा तनहुँ–१ बाट हारेपछि पार्टी पराजयको आरोप नेतृत्वमाथि लगाउने उनको नैतिक आधार कमजोर बन्न पुगेको छ । आफैंले चुनाव जित्न नसकेको आरोप सभापतिमाथि लगाउँदै देउवालाई नेतृत्व छाड्न दबाब दिनसक्ने अवस्थामा पौडेल छैनन् । देउवामाथि नैतिक प्रश्न उठाउँदै पार्टीभित्र दबाब बढाए पनि आफैं पराजित पौडेलमा पार्टी नेतृत्व आउने सम्भावना नरहेपछि उनी मौन छन् । ‘दुई ठूला वामपन्थी दल मिलेर निर्वाचनमा गएका बेला नेतृत्वको आलोचना गरेर मात्र हुँदैन’, पौडेल निकट एक नेताले भने, ‘नेतृत्व परिर्वतनको माग समय र परिस्थितिअनुसार गर्नुपर्छ ।’
पार्टीको १३औं महाधिवेशनमा पहिलो पुस्तालाई चुनौती दिँदै नेतृत्वका लागि  मैदानमा उत्रिएका सिटौला पनि पौडेलजस्तै रक्षात्मक अवस्थामा छन् । केन्द्रीय नीतिविपरीत राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी तालमेल तोडेर झापा–३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सिटौला आफैं पराजित भए । सिटौलाले राप्रपासँगको तालमेल तोडेर झापामा पार्टीलाई हराएको आरोप खेपिरहेका छन् ।
समानुपातिकतर्फ पहिलो नम्बरमा बस्न छाडेर अन्तिम समयमा राप्रपासँगको तालमेल टुटाएर सिटौला प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । सिटौलाको उक्त कदम एमालेलाई चुनाव जिताउन सहयोगी बनेको व्याख्या कांग्रेसका स्थानीय नेताकार्यकर्ताले गर्न थालेपछि उनी त्यसको प्रतिरक्षामै छन् ।
पौडेल, सिटौलाका साथै पूर्वमहामन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठसहितका नेता पराजित भएको अहिलेको अवस्थामा महामन्त्री शशांक कोइरालाका लागि अहिले नै पार्टी नेतृत्वमा पुग्ने अवसर हुनसक्थ्यो । आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने आकलन कांग्रेसजनले गरेका बेला निर्वाचन पराजयको मुद्दालाई उठाएर उनले सभापति देउवामाथि नैतिक दबाब खडा गर्नसक्थे । परिस्थिति पनि उनका लागि अनुकूल हुनसक्थ्यो । तर, महामन्त्री कोइराला नेतृत्वप्रति आक्रामक होइन रक्षात्मक छन् । बरु सभापति देउवासँगै मिलेर पार्टीलाई अघि बढाउने उनको तयारी रहेको निकटहरूले बताएका छन् ।
सभापति देउवाले आफू संसदीय दलको नेता नबन्ने अवस्थामा कोइरालालाई नै दलको नेताका रुपमा प्रस्ताव गर्नसक्ने नेताहरूको बुझाइ छ । ‘सभापतिसँग उहाँको केही सहमति भएजस्तो देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र पौडेल पराजित भएको अहिलेको अवस्थामा पार्टीभित्रको सन्तुलन मिलाउन उहाँलाई दलको नेता बनाएर सभापतिले आफूअनुकूल हुनेगरी पदाधिकारी मनोनयन गर्न सक्नुहुन्छ ।’ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित २३ मध्ये देउवा निकटकै बहुमत छ भने समानुपातिकतर्फको क्रमागत सूचीमा पनि उनी निकट नै अघि छन् ।
समानुपातिकतर्फको मत हेर्दा कांग्रेसप्रति जनताको ठूलो भरोसा देखिएको बताउँदै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको साइज घट्नुमा दोष अरूमाथि थोपर्नुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौं सोअनुसार हारको जिम्मेवारी पनि लिनुपर्ने सुनाए । उनले भने, ‘अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जेजति गर्नुपर्ने हो पूरा गर्नु जरुरी छ ।’
युवा नेता गगन थापा, धनराज गुरुङसहितले भने पार्टीको विशेष महाधिवेशन बोलाएर नेतृत्व परिर्वतन गनुपर्ने आवाज उठाइरहेका छन् । पार्टीमा पुनर्संरचना जरुरी रहेको र त्यो पहिलो पुस्ताबाट सम्भव नरहेको जिकिर गर्दै उनीहरूले आफूहरू सबल र सक्षम नेतृत्व दिन तयार रहेको दाबी गरेका छन् । केही युवा नेतालाई बुधबार राजधानीको सिद्धार्थ कटेजमा भेला गरी निर्वाचन पराजय र पार्टीलाई अब कसरी अघि बढाउन सकिन्छ भनेर उनीहरूले छलफलसमेत गरे । थापा, धनराज, चन्द्र भण्डारी, प्रदीप पौडेल, रामहरि खतिवडा, महादेव गुरुङसहितका युवा नेता उपस्थित भेलाले सभापति देउवाका साथै नेताद्वय पौडेल र सिटौलाबाट अबको कांग्रेस चल्न नसक्ने भन्दै पार्टी पुनर्संरचनाको मुद्दालाई केन्द्रीय समिति बैठकमा लैजाने ठहर गरेको छ । ‘देउवा अक्षम, पौडेल र सिटौला सक्षम भन्ने होइन,’ भेलामा थापालाई उद्धृत गर्दै एक सहभागीले भने, ‘अब उनीहरूबाट कांग्रेस चल्न सक्दैन विकल्प खोज्नुपर्छ ।’
पार्टी पराजयको जिम्मेवारी सभापति, महामन्त्रीसहित पहिलो तहका नेताहरूले लिनुपर्ने तर्क गर्दै केही युवा नेताले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सारेर पुनर्संरचनाको मुद्दा अघि बढाउनुपर्ने धारणा राखेका थिए । त्यसलगतै साँझ नेता थापा सिंह निवास चाक्सीबारी पुगेका थिए ।
गुरुङ, भण्डारीसहितका केहीले पार्टी नेतृत्व युवा पुस्तामा ल्याउनुपर्ने तर्कसहित थापालाई संसदीय दलको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।
भेलाका सहभागीले उम्मेदवारी छनोट ठिक ढुंगबाट नभएको, तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरेको महाभियोगमा पार्टी स्पष्ट हुन नसकेको, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता महाभियोग प्रस्तावलाई पुष्टि गर्न नसकेको पार्टी भ्रातृ संगठन परिचालन नभएको, मतदातालाई प्रभावित गर्ने अजेन्डा ल्याउन नसकेका जस्ता कारणले पार्टीले हार सहनुपरेको बताएका थिए । नेता महादेव गुरुङले पार्टीका प्रभावशाली नेताहरूले भाइभतिजा, श्रीमती, पिएलाई उम्मेदवार बनाएको गुनासो गरेका थिए ।
दुई ठूला दल मिलेपछि कांग्रेसपछि पर्ने कुरा अस्वाभाविक नभएको सुनाउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘कांग्रेस नेतृत्वमा निर्वाचन सम्पन्न गरेर ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौं । अब वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ ।’

 

प्रकाशित: ७ पुस २०७४ ०३:१३ शुक्रबार

कांग्रेसका शीर्ष नेता रक्षात्मक युवा