राजनीति

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष अोली नै: महासचिव पोखरेल

काठमाडौ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् । माओवादी केन्द्रसँग पार्टी एकताको कुरा चलिरहेको बेला शुक्रवार काठमाडौंमा भएको साक्षात्कारमा महासचिव पोखरेलले अब बन्ने सरकार र पार्टीको नेतृत्व ओलीले नै गर्ने दावी गरे ।

आफ्नो पार्टीलाई जनताले सरकारको नेतृत्व गर्ने जनमत दिएको र पार्टीलाई संसदमा पहिलो पार्टी बनाउने ओलीले फेरि पनि पार्टीको नेतृत्व गर्ने पोखरेलको भनाई छ । बाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको बताउँदै उनले सरकार गठन र माओवादीसँगको पार्टी एकता सँगसँगैअघि बढाउनेगरी छलफल गर्ने जानकारी दिए । महासचिव पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताए । नेता पोखरेलले अहिलेको अवस्थामा राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशमा नेपाली कांग्रेसकाे मनसाय सही नभएको बताए । निर्वाचनबाट धेरै मत प्राप्त गरेका दलहरुले असन्तुष्टि जनाइरहेको बेला अध्यादेश पेश गर्न नहुने भन्दै उनले यसका लागि प्रधानमन्त्रीले सहमति कायम गरेर अगाडि बढ्नुपर्ने बताए । महासचिव पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए ।  

 

प्रकाशित: २९ मंसिर २०७४ १३:२२ शुक्रबार

अबको प्रधानमन्त्री पार्टी अध्यक्ष अोली नै महासचिव पोखरेल