राजनीति

ताप्लेजुङमा १७ जनाको जमानत जफत

ताप्लेजुङ- ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ। बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रतिनिधिसभामा २ तथा प्रदेशसभाको १(क) र १(ख) मा २–२ गरी जम्मा ६ जनाको मात्र जनामत जोगिएको जानकारी दिए। जमानत जोगाउने उम्मेदवारले निर्वाचनमा खसेको कुल सदर मतको कम्तिमा १० प्रतिशत मत ल्याउनु पर्छ। एक स्थानको प्रतिनिधिसभामा ८ तथा प्रदेशसभाको १(क) मा ७ र १(ख) मा ८ गरी जम्मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रतिनिधिसभाका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क बापत जनही १० तथा प्रदेशसभाका उम्मेदवारले जनही ५ हजार रुपैंया जमानत(धरौटी) राख्नुपर्ने हुन्छ। जमानत जोगिनेले उम्मेदवारी दर्ता शुल्क बापत राखेको धरौटी फिर्ता पाउने छन् भने जमानत जोगाउन नसकेका उम्मेदवारको धरौटी बापतको रकम नेपाल सरकारको राजश्व खातामा जम्मा हुने छ।

प्रतिनिधिसभामा कुल सदर मत ४९ हजार ३ सय ४५ को ५९.७४ प्रतिशत ल्याएर बिजयी एमालेका योगेशकुमार भट्टराई र ३४.२२ प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेका काँग्रेसका केशवप्रसाद दाहालको जमानत जोगिएको छ। प्रतिनिधिसभामा उम्मेदवार रहेका मंगोल नेस्नल अर्गनाइजेसनका छबिन्द्र गुरुङ(०.०८),एकीकृत राप्रपा राष्ट्रवादीका डिल्लीराम बिष्ट(०.४८),राष्ट्रिय जनमुक्तिका आइत मावो(०.६५),संघीय समाजबादी फोरमका धनकुमार साम्यू(०.८०) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार याक्सो(३.२२) प्रतिशत मात्र मत आएपछि जमानत जफत भएको छ।

प्रदेशसभा १(क) तर्फ कुल सदर मत २७ हजार ८ सय ८३ को ५५.२९ प्रतिशत ल्याएर बिजयी एमालेका बलबहादुर साम्सोहाङ र ३९.३५ प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेकी काँग्रेसकी लिलादेबी बोखिम बाहेक अरु सबैको जमानत जफत भएको छ। प्रदेशसभा १(क) मा उम्मेदवार रहेका एकीकृत राप्रपा राष्ट्रवादीका गायत्रीप्रसाद थेबे(०.३०),राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर किराँत(०.४३),संघीय समाजबादी फोरमका झक्तबहादुर ऐङदेन(०.५६),नयाँ शक्ति पार्टीका मनबहादुर गुरुङ(०.९५) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर खुदाङ(३.०८) प्रतिशत मत ल्याएका छन् । प्रदेशसभाको १(ख) मा २१ हजार ४ सय ९१ सदरमत मध्ये ५६.७५ प्रतिशत ल्याएर बिजयी माओवादी केन्द्रका टंक आङबुहाङ र ३५.३० प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेका काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङ बाहेक अरु ६ जनाको जमानत जफत भएको छ । जनामत जोगाउन असफल उम्मेदवार मध्ये एकीकृत राप्रपा राष्ट्रवादीका सपना सामेखाम(०.३८), नयाँ शक्ति पार्टीका बिशाल लिम्बू(०.४९)राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङबुहाङ (१.०३),संघीय समाजबादी फोरमका सुखवीर लिम्बू(१.१०),जन समाजवादी पार्टीका कृष्णबहादुर लिम्बू(१.६७) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले (३.२३) प्रतिशत मत ल्याएका छन्।

 

प्रकाशित: २९ मंसिर २०७४ ०९:०३ शुक्रबार

ताप्लेजुङमा १७ जनाको जमानत जफत