राजनीति

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे।

'म संसदमा हाजिर हुन्छु। किनकि मलाई यहाँका जनताले जनमत दिएर पठाउनुभएको छ। म त्यो जिम्मेवारी पूरा गर्न अवश्य संसदमा आउँछु'

प्रधानमन्त्री शेरबहादुर देउवालाई वारेसमार्फत् प्रमाणपत्र दिने तर आफूलाई ब्यक्ति नै हाजिर हुनुपर्छ भन्ने आयोग भनाई विभेद्पूर्ण रहेको उनले बताए। उनले आफू माननीयको हैसियत पाइसकेकाले अझै निर्वाचन आयोगले आनाकानी गरे कानुनी प्रकृयामा जाने बताए।

प्रमाणपत्र दिन नमिल्ने भए उम्मेदवारको हैसियत किन दिएको भन्दै उनले निर्वाचन आयोगसँग प्रश्नसमेत गरेका छन्। 'म दोषी नै थिए भने आयोगले मेरो उम्मेदवारी लिनु हुँदैनथ्यो। मलाई उम्मेदवारको हैसियतमा प्रदान गर्नुपर्दैनथ्यो। तर ३५ हजार जनमत पाइसकेपछि तिमी दोषी हौ। प्रमाणपत्र तिमी आफैँ लिन आउनुपर्छ भनेर बखेडा झिक्नु राम्रो होइन,' उनले भने।

किन भाग्दै हिँडेको भन्ने प्रश्नमा उनले तत्कालीन गृहमन्त्री बामदेव गौतमले आफूलाई ठाडै गोली हान्ने आदेश दिएका कारण प्रवासमा बस्न बाध्य भएको बताए। 'म भाग्दै हिँडेको होइन। मलाई प्रवासमा बस्न बाध्य बनाइको हो। तत्कलानी गृहमन्त्रीले प्रहरीलाई ठाडै मलाई गोली हान्न आदेश दिएको हो,' उनले भने।

उनले अभिमतले जनताले आफूलाई निर्दोष सावित गरेकोसमेत उनले दाबी गरे। 'मलाई जनताले निर्दोष सावित गर्नुभएको छ। म अरु कुनै क्षेत्रमा गएर चुनाव लडेको होइन। म त्यही क्षेत्रबाट चुनव लडेको हुँ। तपाइँ टीकापुरमा गएर सोध्नुस् कुनै बुद्धिजीवीले म दोषी भने म टीकापुरबाटै गिरफदारी दिन तयार छु,' उनले भने।

सद्‍भावको पक्षमा रहेको बताउँदै आएका रेशमले आफू संसदमा हाजिर हुने दाबीसमेत गरे। 'म संसदमा हाजिर हुन्छु। किनकि मलाई यहाँका जनताले जनमत दिएर पठाउनुभएको छ। म त्यो जिम्मेवारी पूरा गर्न अवश्य संसदमा आउँछु,' उनले भने।

प्रकाशित: २७ मंसिर २०७४ ०७:३७ बुधबार

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ रेशम चौधरी