जाजरकोट – गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्पm जाजरकोटमा नेपाली काँग्रेस पहिलो भएको छ। प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको काँग्रेसले समानुपातिकमा भने प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा बढी मत पाएको हो।
मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार जिल्लामा खसेको ६० हजार ८ सय ९७ मत मध्ये प्रतिनिधि सभा तर्फ काँग्रेसले २० हजार ४ सय ८६ मत ल्याएको छ भने एमालेले १७ हजार ६ सय ७१ मत पाएको छ। त्यस्तै माओवादी केन्द्रले १३ हजार ५ सय ७१ मत प्राप्त गरेको छ । राप्रपाले २४६ राप्रपा प्रजातान्त्रिक ३ सय १८ं र नयाँ शक्ति नेपालले ५सय २६ मत प्राप्त गरेको छ।
प्रदेश सभा तर्फ क्षेत्र नम्बर १मा काँग्रेसले ९ हजार ६ सय ५५ र एमालेले ७ हजार ७ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । त्यस्तै माओवादी केन्द्रले ८ हजार ३ सय ९ मत पाएको छ । प्रदेश सभाकै क्षेत्र नम्बर २मा काँग्रेस भन्दा एमाले अघि देखिएको छ । एमालेले ९ हजार ६ सय ६६ मत प्राप्त गरेको छ भने काँग्रेसले ८ हजार ५ सय ३१ रहेको छ । त्यस्तै माओवादीले ४ हजार ५ सय ८७ मत पाएको छ। प्रत्यक्ष तर्फको गणनामा वाम गठबन्धन गरेका एमाले माओवादी नेपाली काँग्रेस भन्दा ८ हजार ९ सय ९२ मतले अघि छन् भने प्रदेश सभा तर्फ क्षेत्र नम्वर १मा वाम गठवन्धन ४ हजार २४ मतले अघि छ।
यस्तै जिल्लामा प्रतिनिधि सभामा खसेको ६० हजार ८ सय ९७ मत मध्ये ७ हजार २ सय २ मत बदर भएको छ भने प्रदेश क मा खसेको ३२ हजार ६ सय ६ मत मध्ये ५ हजार ५ सय ९२ मत बदर भएको छ । त्यस्तै प्रदेश ख मा खसेको २८ हजार २सय ९१ मत मध्ये ५हजार २१ मत बदर भएको छ । प्रत्यक्ष तर्फ पनि ८ हजार मत बदर भएको थियो । मतदाता शिक्षा प्रभावहीन भएको र राजनीतिक दलका नेता र कर्मचारीहरूको कमजोरीका कारण धेरै मत बदर भएको स्थानीय असलशासनकर्मी बालकुमार शर्माले बताए । उनले मतदाता शिक्षा कार्यक्रम नाममा मात्र सीमित हुन पुगेका कारण धेरै मत बदर भएको बताए।
प्रकाशित: २६ मंसिर २०७४ ०७:२५ मंगलबार