राजनीति

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

गोरखा- गोरखा २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिजयी भएपछि नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्येक महिना आफु गोरखा आउने बताएका छन्। आईतवार गोरखा सदरमुकाममा लोकतान्त्रीक गठबन्धनद्धारा आयोजित चुनावी सभामा उनले भने ‘जनताको प्रतिनिधि भएपछि समस्या बुझ्न पनि सक्नुपर्छ, म त्यो थाहा पाउन प्रत्येक महिना गोरखा आउनेछु।’

सयौँको संख्यामा नेपाली कांग्रेस र नयाँ शक्तिका कार्यकर्ता र सर्वसाधारण मतदाताको बिचमा गोरखा सदरमुकामको हरमटारी चोकमा आयोजित बिजयी सभामा खुसी साट्दै उनले थपे ‘सबै जनताको घर नहुँदा सम्म मैले घर बनाउँदिन, अहिले पनि म काठमाडौंमा डेरामा छु, मेरो डेरा सबै गोर्खालीलाई २४ सै घण्टा खुल्ला छ।’ भट्टराईले यस्तो बताईरहँदा बिजयी सभामा सहभागीले तालि पिटेका थिए । उनले आफ्ना सुरक्षाकर्मीलाई गोरखाबाट आफुलाई भेट्न काठमाडौं पुगेका जो कोहीलाई पनि गेटबाट नफर्काउन निर्देशन दिएको बताए।

नेपाली कांग्रेससँगको सहकार्यमा निर्वाचन जितेका उनले आफु कांग्रेसको पनि प्रतिनिधि र अन्य दललाई मतदान गरेका जनतको पनि प्रतिनिधि भएकाले सबैलाई समान ब्यवाहार गर्दै बिकासको बाटोमा लाग्ने बताए। कांग्रेस सँगको चुनावी तालमेलले आगामी पाँच वर्ष सम्म संसदको अवधी हुँदा सम्मको सहकार्यलाई इङ्कित गरेको उनले बताए। ऐन कानुन बनाउने, नीति निर्माण तयार गर्ने, जनताको माग संवोधन गरि सहकार्य गर्ने, गोरखामा बिकासको लहर सिर्जना गर्ने लगायतका काममा आफ्नो प्राथमिकतामा रहेको बताए।

नेपाली कांग्रेस र नयाँ शक्तिले आयोजना गरेको सभामा गोरखा २ का प्रदेश क का बिजयी सदस्य हरिशरण आचार्य, ख का बिजयी सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ, जिल्ला सभापति हरिबहादुर घले लगायतले सभालाई संवोधन गरेका थिए । यस्तै बाम गठबन्धनले पनि गोरखा सदरमुकाममा आईतवार चुनावी सभा गरेको छ । गोरखा १ मा बिजयी हरिराज अधिकारी, १ क का लेखबहादुर थापा, ख का रामशरण बस्नेत बिजयी गठबन्धनका उमेद्धवारले मतदातालाई मतको कदर गर्ने गरि काम गर्ने, जिल्लाको समग्र बिकास निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । अधिकारी र थापा माओवादी केन्द्रबाट बिजयी हुन् भने बस्नेत नेकपा एमालेबाट बिजयी भएका हुन् । आईतवार बिजयी प्रमाण पत्र बुझेपछि बिजयी उत्सब मनाउँदै बाम गठबन्धनका नेता कार्यकर्ता र शुभेच्छुकले गोरखा बजार परिक्रमा गरेका थिए।

प्रकाशित: २४ मंसिर २०७४ १५:४४ आइतबार

गोरखाली जनताको प्रतिनिधि हुँ डा. भट्टराई