राजनीति

बागलुङका सबै सिटमा बाम उम्मेदवार विजयी

बागलुङ– प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बागलुङका सबै सिट बाम गठबन्धनले जितेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले पछि पार्दै पहिलो पटक जिल्लाको सबै सिटमा बाम गठबन्धनले कब्जा जमाएको हो।

प्रतिनिधि सभा बागलुङ क्षेत्र नम्बर १ मा बहालवाला राज्यमन्त्री चम्पादेवी खड्कालाई एमाले नेता डाक्टर सूर्य खड्काले विजयी हासिल गरेका छन् । उनीहरु बीचको मतान्तार १३ हजार ४१ रहेको छ ।

सूर्य पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दीमा नेपाल सरकारका राज्यमन्त्री समेत रहेकी नेपाली काँग्रेसकी चम्पा खड्काले २० हजार ६ सय १६ मत ल्याइन्।

पाठक २०७० को संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट पराजीत भएका थिए । खड्का ७० को निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनका पति हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछिको उपनिर्वाचनमा निर्वाचित भएर राज्यमन्त्री समेत भएकी हुन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पनि भारी मत अन्तरले बाम गठबन्धनबाट उम्मेदवार बनेका देबेन्द्र पौडेल विजयी भए । बागलुङ क्षेत्र  नम्बर १ मा मतदाता भएर २ बाट उम्मेदवार बन्दा आफैले आफुलाई मत हाल्न नपाए पनि पौडेलले काँग्रेस उम्मेदवार नरबहादुर पुन ‘निरज’ लाई आठ हजार ९ सय २२ मत अन्तरले पराजित गरेका छन्।

देबेन्द्र पौडेलले २८ हजार ८ सय २७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्व साँसद निरज पुनले १९ हजार ९ सय ५ मत प्राप्त गरे ।
 

एउटै वडामा दुई प्रतिनिधि सभा सदस्य
यसपटक बागलुङका मतदाताले बागलुङको एउटै वडाबाट दुई जनालाई प्रतिनिधि सभामा निर्वाचित गराएर पठाएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सूर्य पाठक र २ बाट निर्वाचित देबेन्द्र पौडेल दुबै जना बागलुङ नगरपालिका—१२ अमलाचौरका स्थायी बासिन्दा हुन् । बाम दलहरु एक ठाउँमा उभिए संगै निर्वाचनमा जाने भएपछि यस्तो संयोग भएको हो। पौडेल नेकपा माओवादी केन्द्रका स्थायी  समिति सदस्य हुन् । जनयुद्धको समयमा त्यसपछि शान्ति प्रक्रियामा आएपछि पनि उनी बाबुराम भट्टराईको दाहिने हातको रुपमा मानिन्थे । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी बनाएपछि केही समय बाबुराम भट्टराईसंगै गएका उनी पुनः पछि माओवादीमै फकिएका थिए ।उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा लडेका हुन् ।  सूर्य पाठक भने जापानमा रहँदा नेकपा एमालेको प्रवासी संगठनमा सक्रिय थिए । अघिल्लो पटक निर्वाचनमा पराजीत भए पनि उनले अहिले ठूलो मतान्तरले विजयी प्राप्त गरेका छन् ।
 

प्रदेशको चारवटै सिटमा बाम
बाम गठबन्धनले बागलुङका चार वटै प्रदेश सदस्यमा आफ्नो जित निकालेको छ । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा क मा नेकपा एमालेका ईन्द्रलाल सापकोट विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेको सापकोटाले काँग्रेस जिल्ला सभापति दीपेन्द्र बहादुर थापालाई हराएका हुन् । सापकोटाले  १७ हजार ९ सय १३ मत ल्याएका छन्  । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले ११ हजार ९ सय ८४ मत प्राप्त गरे । सापकोटाले थापालाई ५ हजार ९ सय २९ मतले पराजित गरेका छन् । यस्तै बागलुङ क्षेत्र १ को प्रदेश २ बाट बाम गठबन्धन अन्तरगत राष्ट्रिय जनमोर्चाका कृष्ण थापा बिजयी भए । पूर्व सांसद प्रकाश पौडेललाई पछि पार्दै थापाले प्रदेश सभा सांसदमा आफुलाई पक्का  गराए । थापाले १४ हजार ३ सय ७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी पौडेललेले ८ हजार २ सय ४६ मत प्राप्त गरे । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभाबाट बाम गठबन्धन अन्तर्गत नेकपा माओवादीका जिल्ला सहईन्चार्ज चन्द्रबहादुर बुढा सागर विजयी भए । पहिलो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता रामजीप्रसाद शर्मासंग पराजीत भएका बुढा अहिले एमालेकै सहारामा विजयीको माला पहिरिन सफल भए । बुढाले १७ हजार ४ सय १५ ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मञ्जेश बम मल्लले ११ हजार ५ सय ४६ मत ल्याएका छन्।

मल्ललाई बुढाले ५ हजार ८ सय ६९ मत अन्तरले पराजीत गरे । क्षेत्र २ को प्रदेश २ बाट बाम गठबन्धन अन्तर्गतका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा काँग्रेस उम्मेदवारसंग पराजीत भएका घर्तीले १० वर्षपछि प्रदेश सभा निर्वाचनमा आफ्दा बदला पूरा गरे । घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका छन् । घर्तिले शेरचनलाई ३ हजार २ सय ६० मतले पराजित गरेका हुन् । बाम गठबन्धनमा सबै भन्दा कमजोर भनिएको र काँग्रेसले जित्न सक्ने भनिएको ठाउँमा घर्तीले विजयीको झण्डा फहराएका हुन् । यो मत परिणमसँगै २०७० को संविधान सभा निर्वाचनमा क्लीन स्वीप गरेको काँग्रेस अहिले क्लीन स्वीमा परेको छ । बागलुङ मात्रै नभई म्याग्दी मुस्ताङमा पनि काँग्रेसले कुनै पनि सिट जित्न सकेको छैन ।

प्रकाशित: २३ मंसिर २०७४ ०४:२१ शनिबार

बागलुङका सबै सिटमा बाम उम्मेदवार