बाबियाचौर – म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।
केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बनेका छन्। बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो।
यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएकी छिन्।
प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ। प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ।
वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेका हुन्।
दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बनेकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए।
म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र (क) को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ मंसिर २०७४ ०८:१२ शुक्रबार