राजनीति

मनाङमा एमालेलाई गठबन्धनको राहत

पोखरा – हिमाल पारिको जिल्ला मनाङमा यसअघिका कुनैपनि निर्वाचनमा एमालेले जितेको इतिहास थिएन । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले जितेपनि त्यसबाहेकका सबै निर्वाचनमा कांग्रेस हावी हुँदै आएको थियो । तर, यो पटक क्रमभंग गर्दै एमालेले बाजी मारेको छ । 
एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गर्दै इतिहास रचेका हुन् । पोल्देनले २३ सय मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत मात्र पाएका छन् । मनाङमा २०६४ मा माओवादीका देव गुरुङले जित हासिल गरेका थिए । मनाङ सुरुदेखि नै कांग्रेसको पकड रहेको जिल्लाको रुपमा परिचित रहेकोमा यो पटक पराजित भोग्नुपरेको छ । 

२०४८, २०५१ र २०५६ का निर्वाचनमा एमालेले मनाङमा उम्मेदवार समेत उठाएको थिएन । पहिलो संविधानसभामा एमालेले उम्मेदवार बनाउँदा त्यो बेला जम्मा ४७ भोट पाएको थियो । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा एमालेले मनाङमा भोट बढाएर ७० पुर्‍याएको थियो । त्यसबाहेक धेरै भोट ल्याएर यो पटक बाजी मारेको छ। 

वाम गठबन्धनको राहतमा एमाले कांग्रेसलाई रोक्न सफल भएको विजयी एमालेका गुरुङले बताए । ‘मनाङको कांग्रेसको क्रमभंगता गर्न गठबन्धन मुख्य सहयोगी बनेको छ,’ उनले टेलिफोनमा भने, ‘गठबन्धनको जोडसँगै जनताले हामीप्रति विश्वास गरेका हुन् । जनताले चाहेको विकास गरेर अब त्यो विश्वास कायम राख्छौं ।’ उनले मनाङमा रहेको एमालेका कमजोरीलाई सुधार्दै अघि बढेको बताए । ‘हिजोसम्म एमाले कमजोर थियो, त्यसले गर्दा हामी पछाडि परेका थियौं,’ उनले भने, ‘यो पटक हामी आएका छौ । हामीले केही गर्नेछौं भन्ने जनताले आश गरेका छन् । त्यही भएर भोट दिएका हुन्।’ 

मनाङमा कहलिएका स्याउ किसान र पर्यटन व्यावसायीको रुपमा समेत चिनिएका गुरुङ जिल्ला प्रवेशमार्ग (बाटो) को स्तरोन्नतीसँगै पर्यटन, कृषि र जलश्रोतलाई प्राथमिकता दिने बताउँछन् । ‘मनाङ आउने बाटो निकै अप्ठेरो छ । अब सकेसम्म सडक कालोपत्रे गर्ने हो, नसके फराकिलो बनाउने हो,’ उनले नागरिकसँग भने । त्यसबाहेक कृषिमा अहिले चलिरहेको स्याउ बाहेक अरु खेतीलाई पनि उजागर गर्ने उनले बताए । ‘जता जे सम्भावना हुन्छ । त्यही काम गर्ने हो, जे जस्तो भएपनि बाटो आइपुगेको छ । स्याउ बाहेक आलु, साग खेती पनि गर्न सकिन्छ । तर, आधुनिक तरिकाले कृषि गर्छाै,’ उनले भने, ‘पुरानो तरिकारले कृषि गर्ने होइन ।’

स्थानीयका अनुसार मनाङको राजनीतिमा एमाले सधैं तेश्रो दलको रुपमा रहँदै आएको थियो । पहिलो कांग्रेस, दोश्रोमा राप्रपा र तेश्रोमा एमाले थियो । तर, बीचमा राप्रपका अधिकाशं नेता एमालेमा प्रवेश गरेपछि बल्ल एमालेले केही सुधार ल्याउन थालेको थियो । पछिल्लो समय राप्रपा समेत कमजोर हुँदै गएपछि नेताहरू एमाले प्रवेश गरेका थिए । राप्रपा नेताको एमाले प्रवेशपछि बल्ल एमालेले आकार बढाउन थालेको थियो ।

एमालेसँगै दीपक मनांगेको इन्ट्री

एमालेसँगै दीपक मनांगे भनि चिनिँदै आएका राजिव गुरुङको पनि प्रदेशसभामा प्रवेश भएको छ । सुरुमा उनलाई एमालेले आधिकारिक उम्मेदवारको रुपमा अघि सार्न खोजेकोमा विभिन्न आपराधिक कृयाकलापमा संलग्न भएको र अदालतमा मुद्दाहरू रहेको भन्दै सर्वत्र आलोचना भएपछि एमाले ‘साइलेन्ट’ तरिकाले ब्याक भएको थियो । तर, गुरुङले आफूलाई अदालतले सफाई दिएकोले निर्वाचनमा लड्न पाउनु पर्ने पूर्णअधिकार रहेको भन्दै एमालेबाट उम्मेदवार बन्न नपाएपछि प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

एमालेले सुरमा खण्डा लामा गुरुङलाई उम्मेदवार चयन गर्‍यो । तर, पछि खण्डाको उम्मेदवारी फिर्ता गराएर दीपकलाई समर्थन गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष समेत रहेका मनांगे केही समय अघि मात्र एमालेमा प्रवेश गरेका थिए । राप्रपा टुक्राटुक्रा भएपछि आफूले एमालेलाई समर्थन गरेको उनले बताएका थिए। ‘तीनमहिनाको प्रयासले पनि मलाई जित हात लाग्यो,’ उनले नागरिकसँग भने, ‘अब जनताको सेवा गर्ने हो ।’  दीपकको पहिचान ‘डन’ को रुपमा रहेपनि उनी पछिल्लो समय समाजसेवीको रुपमा मतदातासम्म पुगेका थिए । 

‘अब मनाङका जनताका लागि प्याकेजमा विकासका योजना ल्याउने हो,’ उनले भने, ‘प्याकेजमा पहिलो प्राथमिकतामा पर्यटन परेको छ । यसपछि अरु क्षेत्र अध्ययन गरेर अघि बढ्छु ।’ उनले १४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्मा गुरुङले १ हजार २० मत मात्र पाएका थिए । 

डरत्रास देखाएर जितेः कांग्रेस

मनाङमा प्रदेश (क) बाट जित हासिल गरेका कांग्रेसका चिन्ता घलेले ९ सय ९८ मत पाएका छन् । उनले एमालेका दोर्जे डन्डुल गुरुङलाई पराजित गरेका थिए । दोर्जेले ८ सय ९६ मत पाएका थिए । कांग्रेसका नेताहरुले भने गठबन्धनका उम्मेदवारले मतदातालाई डर, त्रास देखाएर आफ्नो पक्षमा मत तानेको आरोप लगाउँछन् । मनांगेका प्रतिद्वन्द्वी समेत रहेका कांग्रेस नेता कर्मा गुरुङले प्रहरी प्रशासनको उपस्थिति नभएको ठाउँमा मतदातालाई डर त्रास देखाएर गठबन्धनले जित निकालेको बताए । ‘दुर्गम भएकोले जहाँपायो त्यहाँ प्रशासन पुग्न सक्दैन । त्यस्तो ठाउँलाई उपयोग गरेर मतदातालाई त्रसित पारेर गठबन्धनले जित निकालेको हो,’ उनले भने । कर्मा १ हजार २० मत ल्याएर मनांगेसँग पराजित भएका थिए। 

प्रकाशित: २२ मंसिर २०७४ ०७:४८ शुक्रबार

मनाङमा एमालेलाई गठबन्धनको राहत