राजनीति

पर्सामा अपेक्षाभन्दा शान्तिपूर्ण मतदान

वीरगन्जको श्रीपुरस्थित विद्यापीठ उच्च माबिमा बिहीवार बिहान मतदान हुँदै । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचन मध्ये तराईको जिल्ला पर्सामा सोचेभन्दा बढी शान्तिपूर्ण किसिमले सम्पन्न भएको छ । गत मधेस आन्दोलनको प्रमुख केन्द्र रहेको पर्सा जिल्लालाई संवेदनशील ठानेर सुरक्षा निकायले यहाँ निकै सतर्कता अपनाए पनि सहरदेखि गाउँसम्म मतदान भने निकै शान्तिपूर्ण भएको छ । 

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जिल्लामा कुनै पनि मतदानस्थलमा अशान्तिका घटना भएका छैनन्। प्रहरी उपरीक्षक गणेश रेग्मीले शान्त र सौहार्दपूर्ण माहोलमा निर्वाचन सम्पन्न भएको बताए । दुई /तीन वटा मतदान केन्द्रमा प्रतिस्पर्धी दलका कार्यकर्ता बीच समान्य वादविवाद भए बाहेक सुरक्षा व्यवस्थालाई चुनौतिको रुपमा कुनै पनि घटना भएको छैन् । निर्धारित समय अनुसार ७ बजेदेखि मतदान सुरु भएर मतदाताको उपस्थिति बिस्तारै बाक्लिदै गएको थियो। 
मतदान भने आपेक्षा भन्दा कम अनुपातमा भएको छ । पर्सामा करिब ६४ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता समेतको भूमिकामा रहेका आचार संहिता अनुगमन अधिकारी योगेन्द्र प्रसाद आचार्यले बताए । अनुपातको हिसाबले स्थानीय तहभन्दा करिब ८ प्रतिशतले यस पटक कम मत खसेको छ । सबै जसो मतदान स्थलमा औसत २० प्रतिशत जति मतदाता परिचयपत्र नै मतदाताले नलगेको त्यहाँका कर्मचारीले बताए। मतदानमा महिलाहरूको सहभागिता पनि घटेको अनुमान गरिएको छ । ‘सबै ठाउँबाट यकिन संख्या आएपछि मात्र महिला र पुृरुषको अनुपात निस्किने छ,’ आचार्यले भने, ‘स्थानीय तहभन्दा मतदानको प्रतिशत घटेको हो।’

पर्साका सबै एक सय ६७ वटा मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रबाट साँझ ७ बजेसम्म मतपेटिका ल्याउने क्रम जारी थियो । मतपेटिकाहरू आइपुगेपछि बस्ने सर्वदलीय बैठकपछि मतगणना सुरु हुने उनले बताए । बिहीवार राति नै मतगणना सुरु गर्ने वा शुक्रवार बिहान देखि सुरु गर्ने भन्ने सर्वदलीय बैठकले नै तय गर्ने बताउदै यो बिषय टुँगिनसकेको आचार्यले जानकारी गराए । बिहीवार राति नभए शुक्रवार बिहान मतगणना सुरु हुने देखिन्छ । वीरगन्ज श्रीपुस्थित विद्यापीठ उच्च माध्यमिक विद्यालयलाई चारै वटा क्षेत्रको लागि मतगणनास्थल बनाइएको छ । मतगणका कोठा तयार गर्ने त्यहाँ सिसि टिभि क्यामरा जडान गर्ने र तारजाली लगाउने जस्ता पूर्व तयारी पहिले नै गरिसकिएको छ । मतगणनास्थलको सुरक्षा प्रबन्ध पनि दुरुस्त पारिएको छ । 

 

प्रकाशित: २१ मंसिर २०७४ १३:४९ बिहीबार

पर्सामा अपेक्षाभन्दा शान्तिपूर्ण मतदान