राजनीति

वाम गठबन्धनका उम्मेदवार अर्यालमाथि आक्रमण

मोहन गुरुङ

स्याङजा- वाम गठबन्धनका स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईका उम्मेदवार पदमा अर्याल माथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका छन्। उनलाई चापाकोट नगरपालिका–४ मा रहेको राममन्दिर माविको मतदान केन्द्र हाताभित्र आक्रमण भएको हो।

कांग्रेसले मतदान केन्द्र नियन्त्रणमा लिइ एकतर्फी रुपमा मत हाल्न थाले पछि उम्मेदवार अर्यालले आग्रह गर्दा हातपात भएको उनका सहयोगी मोहन खनालले जानकारी दिए। ‘कांग्रेसका साथीहरुले बुथ क्याप्चर गर्न थाले’ उनले भने, ‘दिदीले त्यसो नगरौं भन्दा मोबाइल फुटल्ने र हातपात गर्ने काम भयो।’

जिल्ला प्रशासन कार्यालयका प्रमुख महेश आचार्यले उम्मेदवार अर्यालले त्यहाँ खटिएका एमाले र माओवादीका बुथ प्रतिनिधिलाई लिएर हिँडेको जानकारी आफुलाई प्राप्त भएको जनाए।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जिल्ला निर्वाचन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई घट्नाको सत्य तथ्य विवरण बुझाउन निर्देशन दिएको बताए। अर्याल वर्तमान सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग चुनावी प्रतिस्पर्धामा छन्।

 

प्रकाशित: २१ मंसिर २०७४ १०:४४ बिहीबार

वाम गठबन्धनका उम्मेदवार अर्यालमाथि आक्रमण