राजनीति

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

मतगणना स्थलमा लगाइएकाे तारजाली । तस्बिर : दिनेश सुवेदी

रोल्पा – मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रसाशनले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो ।

‘सुरक्षा सहजताका लागि मतगणना गर्ने स्थानमा तार जाली प्रयोग गरेका छौँ । साथै प्रत्यक्ष निगरानीका लागि सिसिटिभी क्यामरा समेत जडान गरेका छौँ ।’ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस बासुदेवलाल श्रेष्ठले बताए।

मतगणना स्थलमा ६ वटा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अर्को एउटा पनि थप्ने तयारी भइरहेको श्रेष्ठले बताए । उनले थपे ‘आज सर्वदलीय, सर्वपक्षीय बैठकले दलको प्रतिनिधि संख्या पनि टुङ्गाएका छौँ । २० गते गणनामा बस्ने कर्मचारीलाई अभिमुखिकरण गरे पछि सबै तयारी सकिन्छ । लगभग सबै तयारी सकियो । २१ गते बेलुका ५ बजेबाट गणना सुरु हुन्छ।’

उता सुरक्षाका लागि पनि स्थानीय प्रशासन उच्च सर्तकता अपनाएको छ । ‘गणनास्थलमा तारजाली, सिसिटिभी क्यामरा जडान गरेका छौँ । २१ गते देखि मतगणना स्थलको २ सय मिटर वरपर मदिरा बिक्री वितरण र सेवन रोक्दैछौँ । दलहरूलाई पनि वरपर युवाहरू जम्मा नगरिदिन अनुरोध गरेका छौँ । विशेषगरी भित्री र बाहिरी सुरक्षा अत्यन्त मजबुत छ । अब त २१ गते मतगणनाको प्रतिक्षा मात्र बाकीँ छ ।’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने।

उता तारजाली र सिसिटिभी क्यामरा प्रति दलहरुले आफू प्रति नै विस्वासको संकट भएकोमा चित्त दुखाएका छन् । ‘लोकतन्त्रमा यस्तो दिन पनि आयो । आफ्नै मतगणना आफैँले जाली बाहिरबाट हेनु पर्ने । हाम्रा हरेक गतिविधि अरुले सिसिटिभी क्यामराबाट निगरानी गर्नुपर्ने । यो त लोकतन्त्रको दुखद पक्ष हो ।’ नेपाली कांग्रेसका एक कार्यकर्ताले भने । ‘जसको भोट गनिदै छ उसैलाई अपराधी जस्तो गरी कडा सुरक्षा घेरामा रहेर टाढैबाट मतपत्र हेर्नु पर्ने घटना सायद इतिहासमै कहिले नहोला । सबै दलहरूकै कारणले त हो।’

उता माओवादी केन्द्रका कार्यकर्ता पनि तारजाली प्रयोग प्रति खुसि छैनन् । ‘यो भन्दा दुर्भाग्य राजनीतिमा अरु केही हुदैन। आफ्नै भोट गन्न अपराधी जस्तो तारजाली बाहिर बसेर हेनु पर्ने । यो त लोकतन्त्रको उपहास हो । सायद संसार मै यस्तो घटना हुदैन होला । मतगणनामा सहभागी हुन पनि लाज पो लागेको छ ।’ माओवादी कार्यकर्ता भन्छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले १० गते सम्पन्न निर्वाचनको मतगणना २१ गते बेलुका ५ बजेबाट गरिने तयारी गरिएको छ।

 

प्रकाशित: २० मंसिर २०७४ ०९:०६ बुधबार

मतगणना स्थलमा तारजाली सिसिटिभी क्यामरा