राजनीति

सुरक्षा घेरा कस्दै गृह

काठमाडौं- दोस्रो चरणको मतदानका दिन सुरक्षा घेरा कसिलो बनाउन गृह मन्त्रालयले सुरक्षा रणनीति बदलेको छ। यसअघि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहितको तीन घेराको सुरक्षा रणनीति अपनाएको गृहले सशस्त्र र सेनाको उपस्थिति मतदान केन्द्र निकट बनाएको हो । ‘भयरहित र सुरक्षित रुपमा मतदान गर्न आवश्यक सबै गृहकार्य र तयारी सकिएको छ,’ गृह प्रवक्ता नारायणप्रसाद शर्माले भने, ‘सुरक्षा अवस्था बलियो छ ।’

पहिलो चरणको मतदानका दिन मतदान केन्द्र र मतदानस्थलभित्र, मतदान केन्द्र परिसर, परिसरबाहिर र मतदान केन्द्रको ३ सयदेखि ५ सय मिटर तोकेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिलो चरणको मतदानको दिन मतदान केन्द्रमै समेत बम पड्किएकाले यसपटक मंगलबार बेलुकादेखि मतदान केन्द्रमा कमान्डरसहित सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचन केन्द्रसम्म मतदातालाई सुरक्षित रुपमा ल्याउने जिम्मेवारी पाएको सेनाले स्थलसँगै हवाई गस्तीसमेत गरिरहेको छ । सैनिक प्रवक्ता नैनराज दाहालका अनुसार ८ वटा पृतनामा आठवटा हेलिकप्टर राखिएको छ । आवश्यक परे तत्काल परिचालन गर्नेगरी ३ वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ । ‘सम्भावित झडप हुन सक्ने र शंकास्पद गतिविधि हुनसक्ने स्थान हेरेर हेलिकप्टर परिचालनको तयारी गरेका छौं,’ दाहालले नागरिकसँग भने, ‘हिंसात्मक घटना भएर सुरक्षाको परिस्थिति संवेदनशील भए सैनिक जनशक्ति पठाउनसमेत हेलिकप्टर प्रयोग हुन्छ।’

एकीकृत सुरक्षा योजनामा मतदान केन्द्रभित्र र भित्री परिसरमा प्रहरी र म्यादी प्रहरी,  बाहिरको घेरामा प्रहरी, सशस्त्र, म्यादी र त्योभन्दा बाहिरको घेरामा सेना परिचालन गर्ने रणनीति थियो । चुनाव प्रचारका क्रममा उम्मेदवार र आमसभा लक्षित आक्रमणमा उत्रिएको समूहले मतदानको दिन मतदान केन्द्र, मतदान स्थल जाने गांैडा लक्षित गरी विस्फोट गराउन सक्ने आकलन गर्दै मतदानका दिन मतदान केन्द्रको बाहिरी परिसरमा सशस्त्र र सेनाको उपस्थिति बलियो बनाउने भएको छ ।

स्थानीय प्रशासन ऐनमा प्रहरीले बल प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रिया उल्लेख छ जसअनुसार गोली चलाउन आवश्यक परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने उल्लेख छ । सुरक्षा अवस्थाअनुसार कमान्डरको निर्देशनमा सुरक्षाकर्मीले हतियार प्रयोग गर्न सक्छन् । मतदानअगाडिको सुरक्षा अवस्थाको मूल्यांकन गर्दै गृहले हतियार प्रयोग गर्ने कमान्डरसमेत तोकेको छ । स्रोतका अनुसार गृहले मतदाता, मतदानमा खटिएका कर्मचारी, मतपत्र र मतपेटिकाको सुरक्षा जोखिम बढेको अवस्थामा सुरक्षाकर्मीले गोली चलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै सुरक्षा निकाय, क्षेत्रीय र जिल्ला तहका सुरक्षा समितिलाई आवश्यकअनुसार बल प्रयोग गर्न निर्देशन दिएको थियो । सुरक्षा स्रोतका अनुसार मतदान केन्द्र र स्थलको सुरक्षामा सुरक्षा जोखिमकाआधारमा न्यूनतम ८ जनादेखि २६ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रभित्रको सुरक्षा कमान्डको नेतृत्व सई र असईले गर्नेछन् ।

मतदान केन्द्रभित्रका कमान्डर पेस्तोलसहित खटिएका हुनेछन् भने प्रहरी जवान र प्रहरी हबल्दार पनि हतियारसहितका हुनेछन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका लागि ३ वटा मतपत्र प्रयोग गर्दैछ । तीन मतपत्र खसाल्न एक मतदान केन्द्र र स्थलमा ३ वटा मतपेटिका प्रयोग हुनेछ ।

मतपेटिका सुरक्षाका लागि प्रत्येक मतपेटिका नजिकै ठूलो हतियारसहितको प्रहरी खटिनेछन् । मतदान केन्द्र र स्थलमा प्रवेशद्वारमा ठूलो हतियारसहित प्रहरी र सशस्त्र परिचालित हुनेछन् । मतदान केन्द्र र स्थलको चार कुनाको सुरक्षामा म्यादीसहित प्रहरी र सशस्त्र खटिनेछन् भने भित्री लाइन मिलाउन म्यादी प्रहरी खटिनेछन् ।

मतदान केन्द्र र स्थलको बाहिरी घेरामा प्रहरी निरीक्षकको कमान्डमा ‘सपोर्ट’ टोली खटिँदैछन् । ‘सपोर्ट’ टोलीमा म्यादी प्रहरी रहने छैनन् । मतदान केन्द्रको बाहिरी घेरामा खटिने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले एक निर्वाचन क्षेत्रमा एक डिएसपीको कमान्डमा टोली परिचालन गरेको छ । सो टोलीमा ३  जना सशस्त्र प्रहरी रहनेछन्। नेपाल प्रहरीले पनि एक डिएसपीको कमान्डमा ७ जनाको टोली परिचालन गरेको छ । एक निर्वाचन क्षेत्रमा २४ प्रहरी निरीक्षक टोलीसहित खटिएका छन् । 

मतदान केन्द्र र स्थल जाने मुख्य गांैडामा सुरक्षा जोखिमका आधारमा सेना र सशस्त्र प्रहरी परिचालन भइसकेका छन् । पैदल गस्ती, सवारी गस्तीको जिम्मेवारी पाएको सेनाले सुरक्षा जोखिमको मूल्यांकन गरी हवाई गस्तीसमेत गर्ने तयारी गरेको जानकार स्रोतले बतायो ।

दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामध्ये काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर एवं प्रदेश नम्बर २ का आठ जिल्लामा सुरक्षाकर्मीको उपस्थिति थप सशक्त बनाइएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार निर्वाचन सुरक्षा रणनीतिअनुसार मतदान केन्द्र र स्थलमा मंगलबारदेखि कमान्डरसहितको सुरक्षा टोली परिचालित भइसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेको डडेल्धुरा, पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा, माधवकुमार नेपाल र झलनाथ खनाल उम्मेदवार बनेका काठमाडौं क्षेत्र नम्बर २ र इलाममा समेत विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको सुरक्षा स्रोतले जानकारी दियो ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ९ सय बढीलाई पक्राउ गरिसकेको छ । मतदान हुने अघिल्लो दिन छापा हान्ने र शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रम बढाउन गृहले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी जनशक्ति थप गर्नका लागि विमानस्थल, महŒवपूर्ण प्रतिष्ठान र जेलको सुरक्षामा सेना परिचालन  गरिएको छ । प्रहरी प्रधान कार्यालयले ट्राफिक, अपराध अनुसन्धानमा खटिने केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, विशेष कार्यदल र गणका सुरक्षाकर्मीलाई समेत चुनावी सुरक्षामा परिचालन गरेको छ ।

प्रहरी कार्यालयमा रहेका जनशक्तिको संख्यासमेत कटौती गरेर निर्वाचन क्षेत्रमा पठाएको छ । प्रहरी प्रवक्ता न्यौपानेका अनुसार ७२ हजार जनशक्तिमध्ये ९० प्रतिशत कार्यक्षेत्रमा खटिएका छन् भने कार्यालय प्रयोजनका लागि १० प्रतिशत प्रहरी तैनाथ छन् । ३५ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीले कार्यालय प्रयोजनका लागि चाहिने जनशक्तिबाहेक सबैलाई निर्वाचन सुरक्षामा खटाएको छ । ९२ हजार जनशक्ति रहेको सेनाले २ चरणको निर्वाचनमा ६८ हजार जनशक्ति खटाउने निर्णय गरेको थियो । दोस्रो चरणको निर्वाचनमा ३६ हजार जनशक्ति खटिएका छन् । निर्वाचन सुरक्षाका लागि गृहले ९८ हजार म्यादी भर्ना गरी परिचालन गरिसकेको छ।

निर्वाचनविरोधी गतिविधिमा विप्लव र राउत

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लामा ९ सय २५ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ५ सय ५७ जना नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य हुन् भने १३ जना सिके राउत समूहका सदस्य हुन् ।

निर्वाचन सुरक्षाका क्रममा ६० वटा हतियार र २ सय ५५ राउन्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए । यस्तै २ हजार २ सय  सय डेटोनेटर, ५ सय ५५ जिलेटिन,१३ किलो बारुद, २ सय २० वायर र ६ सय पटका बरामद भएको उनले जानकारी दिए ।

 

प्रकाशित: २० मंसिर २०७४ ०१:१४ बुधबार

सुरक्षा घेरा कस्दै गृह