राजनीति

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

काठमाडौँ (रासस)-  निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ।

हाजिरीजवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् शीर्षनेता तथा अन्य उम्मेदवारको नाम उल्लेख भएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए।

एउटै भागमा सबै उम्मेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नाम समावेश भएको उनले बताए।

हाजिरीजवाफको प्रसारण भइसकेको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ भनेर प्रश्न समावेश भएको तथा दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवालका बारेमा प्रश्न समावेश भएको आयोगले जनाएको छ।

यसैगरी, तेस्रो भागमा उम्मेदवार गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उम्मेदवारीबारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश आयोगले जानकारी गराएको छ।

आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको आयोगले विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।
 

 

प्रकाशित: १७ मंसिर २०७४ १४:४३ आइतबार

आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन