राजनीति

मतदान केन्द्रमा कर्मचारी जाने क्रम शुरु

भद्रपुर—आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मतदान केन्द्रदेखि लिएर खुल्ला सीमानासम्मको भरपर्दो सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले निर्भिक्क भएर मतदान केन्द्रमा गएर मतदान गर्न प्रहरी उपरीक्षक विष्णुकुमार केसीले आग्रह गरेका छन्।

उनले सुरक्षालाई मध्यनजर गरेर नेपाल–भारत आउन र जान भोलि राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि बन्द हुने जानकारी दिँदै निर्वाचनलाई बिथोल्न खोज्ने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि भइरहेको जानकारी दिए।

निर्वाचनमा शान्ति सुरक्षालाई बलियो बनाउन पहिलो पंक्तिमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने छन्।

यसैगरी, निर्वाचनमा खटिने कर्मचारी आजबाट आ–आफ्ना मतदान केन्द्र जान शुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सम्भवतः भोलि बेलुकासम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने र १९ र २० गते मतदाता परिचयपत्र पनि वितरण भइसक्ने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए।

एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत आठ जना कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचनमा आवश्यकपर्ने सबै सामग्री बुझिलिने काम शुरु भइसकेको अधिकारी आचार्यले जानकारी दिए। रासस

प्रकाशित: १७ मंसिर २०७४ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App