राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  

आजको बैठकमा चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने बताइएको छ।  

यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पनि पढेर सुनाउनेछन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिष्य दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व.२०७८/७९ पेश गर्नेछन् भने राष्ट्रिष्य दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व.२०७९/८० पेश गर्नेछन्।

त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ।  

यस्तै राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०४:१५ बिहीबार

प्रतिनिधि सभा बैठक