राजनीति

मतदान तयारी अवस्था बुझ्दै निर्वाचन आयुक्त

रौतहट – निर्वाचन आयुक्त सुधीर शाही मतदान तयारीको अवस्था बुझ्ने क्रममा रौतहट आएका छन् । सो अवसरमा उनले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए।

निर्वाचन केन्द्रीय सुरक्षा नीतिअनुरुप जिल्लाको अवस्थाबारे स्थलगत अध्ययन गर्न सदरमुकाम गौर आएका शाहीले जिल्लास्थित सुरक्षा पदाधिकारीसँगको बैठकपछि सञ्चारकर्मीसँग मतदान शान्त, निष्पक्ष एवं भयमुक्त वातावरणमा हुने विश्वास व्यक्त गरे।

प्रत्येक मतदान केन्द्रमा स्थानीय बासिन्दा सहज रुपमा उपस्थित भएर मताधिकार प्रयोग गर्ने वातावरण सरकारले बनाएको भन्दै उनले सराहना गरे । निर्वाचन आयुक्त शाहीले रौतहट पहिलादेखि नै अति संवेदनशील जिल्लाका रुपमा रहेको भए पनि यहाँ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे। 

निर्वाचन मर्यादित एवं भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई बाक्लो संख्यामा परिचालन गरिएको उनले बताए । साथै नियमित रुपमा सुरक्षा पदाधिकारी अनुगमन गर्ने एवं हवाई गस्ती समेत परिचालन गरिने उनले स्ष्पट पारे । पर्सा हुँदै रौतहट आइपुगेका उनले भने, ‘केही जिल्लामा मधेस आन्दोलनको भिडियो क्लिप देखाएर मतदातालाई भ्रमित पार्ने कार्य भइरहेको सुन्नमा आएको छ । त्यस्तो कार्य निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो ।’ त्यस्तो कार्य तत्काल बन्द गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले जनाए।

उनले समग्रमा रौतहट जिल्लामा शान्तिसुरक्षाको अवस्था अत्यन्तै राम्रो रहेको तथा खुला सीमा भए पनि छिमेकी राष्ट्रको सहयोगका कारण अवाञ्छित तŒव आफैं तह लाग्ने बताए । शाहीसँगै आयुक्त इला शर्मासहितको टोलीले निर्वाचनको शान्तिसुरक्षा अवस्था बुझ्न विभिन्न जिल्लामा हेलिकोप्टरबाट अनुगमन सुरु गरेको छ।

जिल्लामा शान्तिसुरक्षाको वातावरण चुस्त दुरुस्त रहेकाले स्थानीय तहको जस्तै भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुनेमा शंका नगर्न जिल्लाको सुरक्षा निकायले पनि आश्वास्त पार्दै आएको छ।

प्रकाशित: १७ मंसिर २०७४ ०३:२८ आइतबार

मतदान तयारी अवस्था बुझ्दै निर्वाचन आयुक्त