राजनीति

"हाम्रा मन्त्रीले ब्या गर्‌याकी कसी हुन्या रै'छन्"

धनगढी – “हाम्रा मन्त्रीले ब्या (बिहे) गर्‌याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्” २५ वर्षअघि काँग्रेस नेता शेरबहादुर देउवासँग बिहे गरेपछि पहिलो पटक घर डडेल्धुरा पुगेकी डा. आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिवेला व्यक्त गरेको उद्गार स्मरण गरिन् । “त्यसबेला मलाइ लाग्यो । ओ हो ! कति निश्छल, कति निष्कपट र कति सरल सुदूरपश्चिमेलीहरू।” अारजु फ्ल्यासब्याकमा पुग्छिन् ।

“उहाँहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्न आएको भन्नुुभयो, मलाई कस्तो कस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हुँदा रहेछन् भन्ने लाग्यो । तर सँगसँगै सोचे– ओ हो म त चार सय वर्ष अगाडीको समाजमा आइपुगेछु ।”

प्रधानमन्त्री देउवा पत्नी आरजु अहिले नेपाली कांग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । चुनावी प्रचार अभियानमा सक्रिय आरजुले अहिले सुदूर पश्चिमलाइ आफ्नो कर्मथलो बनाउन हरसम्भव प्रयास गरेकी छन् । चुनावी कार्यक्रममा उनले पेचिलो बनेको मुलुकको राजनीतिक अवस्था तथा आर्थिक समृद्धिका योजनाबारे चर्चा गर्छिन् । महिलाको अवस्था सुधारका खाका प्रस्तुत गर्छिन् । गरिबी निवारणका कुरा गर्छिन र वेलावेलामा नितान्त निजात्मक तथा भावनात्मक कुरा पनि गर्छिन् ।

“म विहे गरेपछि पहिलो पटक डडेल्धुरा पुगे, टाढाटाढाबाट लठ्ठी टेकेर वृद्ध महिलाहरू भेट्न आउनुभयो” बिहीबार मल्लिकार्जुन दार्चुला सेवा समिति परिवारले धनगढीमा गरेको अन्तर्क्रियामा काँग्रेस नेतृ आरजुले भनिन्, “उहाँहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्न आएको भन्नुुभयो, मलाई कस्तो कस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हुँदा रहेछन् भन्ने लाग्यो । तर सँगसँगै सोचे– ओ हो म त चार सय वर्ष अगाडीको समाजमा आइपुगेछु ।”
“केही ठाउँमा बल्ल बाटो र विजुली पुगेको रहेछ । बाटोघाटो छैन । रोजगारीका अवसर छैनन् । साक्षरताका दर दयनीय छ । उपचार नपाएर विरामी छट्पटाउनु पर्ने अवस्था छ । जताततै गरिबी छ”  विहेताकाको डडेल्धुरा र सुदूरपश्चिमको अवस्था बारे उनले भनिन् । सुदूर क्षेत्रको अवस्था देखे पछि केही काम गर्ने प्रयास गरेको जानकारी दिंदै आरजुले भनिन्, ”रुडुक संस्थामार्फत अछाम, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा स्वास्थ्य, महिला सशक्तिकरण, रोजगारी सिर्जना लगायतका काम गरे र अहिले पनि जारी छ ।”

 

प्रकाशित: १५ मंसिर २०७४ ११:०१ शुक्रबार

हाम्रा मन्त्रीले ब्या गर्‌याकी कसी हुन्या रैछन्