राजनीति

‘हेविवेट’को भिडन्तले प्रतिष्पर्धा रोचक

काष्ठमण्डप– काडमाडौं क्षेत्र नम्बर ५ मा ‘हेविवेट’ उम्मेदवारको भिडन्तले प्रतिष्पर्धा रोचक बनेको छ । 
यस क्षेत्रबाट कांग्रेसबाट नेता प्रकाशशरण महत, वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् । महत विगतमा कांग्रेसको विजयीयात्रालाई निरन्तरता दिने दाबी गर्छन् । ०६४ र ०७० को चुनावमा कांग्रेस जितेकाले यस पटक पनि यो क्षेत्र आफूले जित्नेमा उनी ढुक्क भएका हुन् । यता नेकपा एमालेका महासचिव पोखरेल वाम गठबन्धनपछि स्थिति बलियो भएको दावा गर्छन् । उनी यो क्षेत्रबाट विजययात्रा सुरुवात गर्न आतुर छन् ।   
दुवैले यस क्षेत्रका मतदाताका मागलाई सम्बोधन गर्ने वाचा गरेका छन् । यस क्षेत्रलाई समृद्ध बनाउने उनीहरूको योजना छ । 
नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महत यस क्षेत्रमा रहेका नगरलाई व्यवस्थित गर्ने, सार्वजनिक खुला ठाउँलाई संरक्षण गर्ने कला संस्कृति र सम्पदाको समृद्ध गराउने वाचा गरेको छ । ‘अव्यस्थित सहरलाई व्यवस्थित र पूर्ण रूपमा सहरको अनुभूत गराउने छौ,’ उनले भने, ‘यस क्षेत्रमा रहेका हाँडीगाउँ, बुढानिलकण्ठ, चण्डेश्वरी जस्ता धार्मिक तथा सांस्कृतिक स्थललाई संरक्षण गर्दै यस क्षेत्रको विकासमा जुट्ने छौं ।’
नेकपा एमालेका महासचिव पोखरेलको भनाइ पनि उस्तै छ । उनी पनि आफू विजयी भएमा यस क्षेत्रमा रहेको हाँडिगाउँ, टोखा, बूढानिलकण्ठ जस्ता धार्मिक तथा ऐतिहासिक ठाउँलाई आर्कषक गन्तव्य बनाउने सुनाउँछन् । ‘टोखालाई सांस्कृतिक सहर बनाउने, सबै नागरिकको स्वास्थ्य बिमा गर्ने प्रमुख अजेन्डा अघि सारेको छु’, उनी भन्छन्,  ‘मेरो योगदान समृद्ध मुलुक र सुखी नेपाली बनाउने हुनेछ ।
यसै क्षेत्रबाट उम्मेदवार रहेका विवेकशील साझाका पार्टी संयोजक उज्ज्वल थापासमेत राम्रै उपस्थिति देखाउँदै घरदैलो अभियानमा छन् । उनको भनाइ भने माथिका उम्मेदवारभन्दा केही फरक छ । ‘जनतालाई सडक बनाउँछु, ढल बनाउँछु भनेर होइन, जिम्मेवारी निर्वाह गर्छु भनेर मत मागिरहेको छु,’ उनले भने, ‘समाजलाई उद्यमशील बनाउने दिशामा अगाडि बढ्ने छौं ।’ 
क्षेत्र नम्बर ५ मा महानगरपालिकाको वडा नम्बर २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ र टोखा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७ पर्छ । 

प्रकाशित: १५ मंसिर २०७४ ०६:३३ शुक्रबार

हेविवेटको भिडन्तले प्रतिष्पर्धा रोचक