राजनीति

संक्रमणकालीन न्याय टुंग्याउन र जलवायु संकटसँग जुध्न सघाउने प्रतिबद्धता

संघीय संसद्मा राष्ट्रसंघ महासचिव गुटेरेसको सम्बोधन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वपीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले तेस्रो दिन मंगलबार संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियामा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे । संक्रणकालीन न्याय टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका निर्णय र पीडितका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न उनले राजनीतिक दललाई आग्रह गरे ।

‘हामीलाई के कुरा थाहा छ भने संक्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ, जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडित हुन्छन्,’ उनले भने । झन्डै आधा घण्टा सम्बोधन गरेका उनले शान्ति प्रक्रियाका साथै जलवायु परिवर्तनमा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले निर्वाह गर्ने भूमिका तथा नेपालले गरेका प्रयासको चर्चा गरेका थिए ।

गुटेरेसले नेपालका राजनीतिक दललाई संकेत गर्दै भने, ‘तपाईंहरू शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ तर अन्यायद्वारा त्रसित, पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । संक्रमणकालीन न्यायले मात्र दिगो शान्ति कायम गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।’

नेपाल आन्तरिक युद्धबाट शान्तितर्फ उन्मुख भएको बताउँदै उनले भने, ‘यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।’

उनले दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यमा नेपालले प्रगति गर्दै गरेको आफूले पाएको बताए । दुई ठुला शक्तिबीच रहेर नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग आफैं बनाएको चर्चा उनले गरे । उनले नेपालमा शान्ति प्रक्रियाको २० वर्षको यात्रा हेर्नलायक भएको पनि बताए । उनले नयाँ संविधानसहित नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र भएको औंल्याए । ‘अल्पविकसित देशको स्थितिबाट तपाईंहरू अगाडि बढ्दै हुनुहुन्छ, संयुक्त राष्ट्रसंघ एक सहज संक्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ,’ उनले भने ।  

नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघको परिवारको प्रिय सदस्य र हालै अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतमा विकासोन्मुख देशका लागि प्रभावशाली आवाज भएको उनले बताए । उनले नेपाल सानो देश भए पनि अन्तर्राष्ट्रिय शान्तिमा यसको ठूलो योगदान गरेको बताए ।  

उनले विश्वका सबै राष्ट्रमध्ये नेपाल संयुक्त राष्ट्रसंघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश भएको बताए । ‘नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि नै कृतज्ञ छु,’ उनले भने । उनले आफ्नो सम्बोधनका क्रममा राष्ट्रसंघको झण्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न एक क्षण लिन चाहन्छु भन्दै एक मिनेट मौनधारण गर्न आग्रह गरे । उनको प्रस्तावबमोजिम संसद्मा उपस्थित सबैलाई सभामुखले एक मिनेट उठेर मौनधारण गर्न आग्रह गरे ।

नेपाल सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यतिर बढिरहेको भन्दै उनले वनजंगल पुनःस्थापनाका प्रयासका लागि धन्यवाद दिँदै यहाँको आधा भाग वनले ओगटेको बताए । सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्ने लक्ष्य भएको उनले बताए । उनले हिमनदी असामान्य गतिमा पग्लिरहेको औंल्याउँदै नेपालले ३० वर्षको अवधिमा आ–आफ्नो हिमनदीको झन्डै एक तिहाई गुमाइसकेको बताए ।

कोभिड–१९ महामारीको असर, मुद्रास्फिती र जलवायु संकटले विकासका प्राप्त लाभलाई चुनौती दिइरहेको र लगानीका लागि उपलब्ध हुने रकमको मात्रा खुम्चिरहेको उनको भनाइ थियो । ‘प्रभाव विनाशकारी छ, पानीले भरिएका ताल फाट्दै छन्, नदी र समुद्रको पानी बढ्दै छ,’ उनले भने, ‘पहाड जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ ।’ हिमालबाट बग्ने नदीले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरेको बताउँदै उनले भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख नदीको बहाव अत्यन्तै सीमित हुन सक्ने औंल्याए । नुनिलो पानीको अतिक्रमणसँगै यस क्षेत्रले बाहिरका डेल्टाहरूलाई नष्ट गर्ने उनले बताए ।  

उनले भने, ‘जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका समुदायप्रति म अति चिन्तित छु तर संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा छ, विश्वले पनि यस्तै गर्नुपर्छ ।’

उनले नेपाल र अन्य विकासोन्मुख देशको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिने बताए । उनले भने, ‘मैले दिगो विकास लक्ष्य प्रोत्साहन र जलवायु कार्यका लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा पाँच खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु,’ उनले भने, ‘सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई आगाडि बढाउन प्रतिबद्ध भए ।’ उनले आफ्नो प्रस्तावलाई वास्तविकतामा रूपान्तरण गर्न आह्वान गरे । उनले राजनीतिक नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न पनि आग्रह गरे ।

विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न आफूले राखेको ‘एक्सलरेसन’ अजेन्डालाई सबै देशले प्रभावकारी बनाउनुपर्ने उनले बताए । यसका लागि विकसित देशले वार्षिक एक खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ र दोहोरो अनुकूलन वित्त र अनुकूलनमा जलवायु वित्तपोषणको आधा खर्च गर्ने पहिलो चरणको रूपमा रहेको उनले बताए ।

उनले नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको मित्रका रूपमा रहेको बताए । आज यो प्रणालीलाई पुनर्ताजगी, पुनरुत्थान र सुधारको निकै आवश्यकता भएको उनले बताए । शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्था चाहिने उनले बताए । ‘२०औं शताब्दीको सुरुमा युरोप बहुधु्रवीय थियो तर बलिया बहुपक्षीय संस्था थिएनन् । यो युद्धमा पर्यो जसले विश्वलाई आफ्नो चपेटामा लियो,’ उनले भने, ‘त्यो हामीले लिनसक्ने जोखिम होइन ।’ 

उनले आजको वास्तविकतालाई प्रतिविम्बित गर्न बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिने बताए । उनले विकासोन्मुख देशका अन्तर्राष्ट्रिय संस्थामा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए । उनले आफूले संयुक्त राष्ट्रसंघको पुरानो परिषद्लाई सुधार गर्न आह्वान पनि गरेको बताए । गुटेरेसले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपाय आफूले प्रस्ताव गरेको बताउँदै यो प्रस्तावले यस वर्षको संयुक्त राष्ट्रसंघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गर्दै रहेको बताए ।

आगामी वर्ष राष्ट्रसंघीय शिखर सम्मेलनमा थप प्रगतिलाई अघि बढाउने महत्त्वपूर्ण अवसर भएको पनि उनले बताए । उनले बहु पक्षवादले संसारलाई प्रतिविम्बित गर्नुपर्ने र त्यसलाई प्रतिकार्य गर्नुपर्ने बताए । उनले आफ्नो उच्चस्तरीय आर्टिफिसियल इन्टेलिजेन्स निकायमा जी ७७ देशका विज्ञ समावेश रहेको जानकारी गराए । यसले यस वर्षको रिपोर्ट गर्नेछ भन्दै उनले सदस्य राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि वैश्विक शासनका लागि वैकल्पिक विचार गर्न सक्ने बताए ।  

‘हामीले टेक्नोलोजीका फाइदा पनि सबैमा पु¥याउनुपर्छ र नयाँ प्राविधिक युगमा कसैलाई पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्नुपर्दछ,’ उनले भने । संयुक्त राष्ट्रसंघले प्रस्ताव गरेको ग्लोबल डिजिटल कम्प्याक्टको उद्देश्य यही भएको पनि उनको भनाइ थियो ।  

नेपाल विश्वको मित्र हो भन्दै विश्व नेपालका लागि असल मित्र हुनुपर्ने बताए । संयुक्त राष्ट्रसंघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि संघर्ष गर्न छाड्नेछैन भन्दै उनले सम्बोधन टुंग्याएका थिए । महासचिव गुटेरेसको सम्बोधनका क्रममा विशिष्ट व्यक्ति उपस्थित थिए । संसद्मा राष्ट्र प्रमुखलाई दिने सम्मान उनलाई दिइएको थियो ।

प्रकाशित: १५ कार्तिक २०८० ००:३५ बुधबार

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस द्वन्द्वपीडित शान्ति प्रक्रिया संघीय संसद् संक्रणकालीन न्याय