परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गएराति द्विपक्षीय भेटवार्ता भएको छ। उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे।
यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गरेका थिए। परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याए।
मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गर्नुका साथै नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न पनि आग्रह गरे।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए। दुबैजनाबीचको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसिसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताएका थिए।
द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो। साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी थिए। रासस
प्रकाशित: १४ कार्तिक २०८० ०४:१३ मंगलबार