राजनीति

उम्मेदवारमाथि घरदैलो गर्नुपर्ने दबाब

काठमाडौं- काठमाडौं–१ का उम्मेदवारमाथि भोट माग्नअनिवार्य रुपमा मतदाताको घरदैलोमा पुग्नुपर्ने दबाब परेको छ । यो काठमाडौं उपत्यकाका चर्चित क्षेत्रमध्ये एक हो ।

‘लोकतान्त्रिक, वाम गठबन्धन र विवेकशील साझा बीचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ, तीनै पक्ष जबरजस्त रुपमा प्रस्तुत भइरहेका छन् ।’

यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा र विवेकशील साझाबाट रवीन्द्र मिश्र मैदानमा छन् । कांग्रेसका पूर्वमहामन्त्री सिंहलाई चुनौती दिने गरी वाम गठबन्धन र विवेकशील साझाका उम्मेदवार मैदानमा उत्रिएपछि सिंहमाथि घरदैलो गर्नुपर्ने दबाब परेको हो ।
काठमाडौं १ विशुद्ध सहरी क्षेत्रमात्र रहेको निर्वाचन क्षेत्र हो ।सो क्षेत्रवाट उम्मेदवारी दिने कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र घरदैलोमा व्यस्त छन् । ०६४ र ०७० सालको निर्वाचनमा घरदैलो नगरेका कांग्रेस उम्मेदवार सिंह यसपटक भने मतदाताको घरघर पुगिरहेका छन् । ‘कात्तिक २० गतेदेखि नियमित घरदैलोमा व्यस्त छु, सकेसम्म सबै मतदाताको घरमा पुग्नेछु,’ सिंहले नागरिकसँग भने । बिहान–साँझ घरदैलो तथा दिउँसो पार्टीको आन्तरिक बैठक र अन्तरक्रियाको कार्यतालिका बनाएर सिंह खटेका छन् ।
दुईदुई पटक सभासद् हुँदा उक्त क्षेत्रमा गरिएका विकास निर्माण कार्य र योजनाको सूची राखेर २० पृष्ठको फेहरिस्तसहित सिंह चुनावी मैदानमा छन् । सिंह भन्छन्, ‘मेरो प्रतिस्पर्धा वाम गठबन्धनसँगै हुन्छ, अरुसँग हुन्न ।’ उनले कम्तीमा १५ हजार मत ल्याएमा चुनाव जित्ने लक्ष्य राखेका छन् ।
वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अनिल शर्मा पनि घरदैलोमा व्यस्त छन् । घरदैलो कार्यक्रममा कांग्रेसको तुलनामा कमजोर देखिएतापनि चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘वाम गठबन्धनका पक्षमा जनलहर छ, त्यसैले मलाई जिताउँछ,’ शर्माले नागरिकसँग भने ।
स्थानीय तहको निर्वाचनमा पाएको मत विश्लेषण गर्दा वामपन्थी कांग्रेसभन्दा बलियो देखिएको छ । त्यसले पनि वाम उम्मेदवार शर्माबढी नै उत्साहित भएका हुन् । स्थानीय निर्वाचनमा सो क्षेत्रवाट २३ हजार ८ सय ३ मत खसेको थियो । उक्त क्षेत्रमा खसेको वडा अध्यक्षहरुको मत विश्लेषण गर्दा एमालेको ८,७१४ र माओवादी केन्द्रको २२७४ गरी वाम गठबन्धनका पक्षमा ११,०१५ मत खसेको देखिन्छ भने भने लोकतान्त्रिक गठबन्धन आबद्ध कांग्रेसको ८,८४२ र राप्रपा १,५५०को गरी जम्मा १०,३९२ मत खसेको देखिन्छ । स्थानीय तहमा वाम गठबन्धन ६२३ मतले अगाडि छ ।
विगतमा कांग्रेस उम्मेदवार सिंहले पाउँदै आएको मत नेपाली कांग्रेस (बिपी) का हरिबोल भट्टराई र विवेकशील साझाका रवीन्द्र मिश्रले काट्ने हँुदा आफ्ना उम्मेदवार विजयी हुने दाबी वाम गठबन्धनको छ ।
नयाँ पार्टीकारूपमा एकाएक उदय भएको विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलेप्रकाशमान सिंहलाई चुनौती दिइरहेका छन् ।त्यस क्षेत्रमा उनको पार्टीसंगठन र कार्यकर्ता देखिँदैनन् । मिश्रको उम्मेदवारी र प्रचारप्रसारले कांग्रेस र वाम गठबन्धनमाथिठूलो दबाब परेको देखिन्छ । त्यसैले दुवै पक्ष हरेक मतदाताको घरदैलोमा पुग्न बाध्य भएका हुन् ।
सो क्षेत्रमा अधिकांश शिक्षित वर्ग छन् । त्यस्तै यहाँ पूर्वकर्मचारी बसोबास छ । अधिकांशबासिन्दा युरोप, अमेरिका र अस्ट्रेलिया भूभागमा रहेका छन् । त्यसैले यहाँका मतदाता सांगठनिक रुपमा कुनै पार्टीको निकट नरही चलायमान चरित्रका छन् । संगठन र कार्यकर्ता नभए पनि मतदाताले स्वतःस्फूर्तरूपमा बोलाउने र अन्तक्रियामा देखिएको उपस्थितिले विवेकशील साझाका मिश्र हौस्सिएका छन् । ‘हाम्रो संगठन बलियो छैन तर जनताको सदभाव व्यापक नै देखिएको छ । जनताले स्वतःस्फूर्तरूपमा मत दिने प्रतिबद्धता जाहेर गरेका छन्,’ मिश्रले नागरिकसँग भने, ‘जनताको सदभावले नै म जित्दैछु, यसमा म पूरै विश्वस्त पनि छु ।’ उनका अनुसार जनताले खोजिरहेको परिवर्तन विवेकशीलबाट मात्रै सम्भव छ ।
तर, उक्त क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धन आबद्ध दलबाहेकका दलले वडा अध्यक्षका हकमा २,४३३ मत मात्रै रहेको देखिन्छ । सो मतसहित वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा पक्षमा मत हालेका उम्मेदवारको उल्लेख्य मत आफ्नो पक्षमा पार्नुपर्ने चुनौती मिश्रलाई देखिन्छ ।
काठमाडौं १ मा महानगरपालिकाका १०, ११, २९ र ३१ गरी ४ वटा वडा पर्छन् । करिब ४३ हजार ४ सय ३० मतदाता रहेको उक्त क्षेत्रमा बढीमा २५–२८ हजार मात्रै मत खस्ने अपेक्षा गरिएको छ ।
उक्त क्षेत्रका तीनै उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न भने पाउने छैनन् ।

प्रकाशित: १२ मंसिर २०७४ ०२:३४ मंगलबार

उम्मेदवारमाथि घरदैलो गर्नुपर्ने दबाब